व्यापार प्रवद्र्धनका लागि प्रधानमन्त्रीको भारत भ्रमण महत्वपूर्ण : वाणिज्यमन्त्री गौचन
काठमाडौँ १२ असोज
-प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधार एवम् व्यापार प्रवद्र्धनका लागि महत्वपूर्ण भएको निष्कर्ष निकालिएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय व्यापार तथा लगानीको प्रभावका बारेमा एसियन इष्टिच्युट अफ डिप्ल्पोमेसी एन्ड इन्टरनेसनल अफयरले आज आयोजना गरेको कार्यक्रमका वक्ताले व्यापारिक रुपमा भ्रमण उपलब्धपूर्ण रहेको बताएका हुन्। वाणिज्यमन्त्री रोमी गौचन थाकालीले दुई देशबीचको व्यापार घाटा कम गर्न प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिपूर्ण भएको बताउँदै विगतका सम्झौतालाई कार्यान्वयन गर्ने सम्बन्धमा भ्रमण कोसेढुङ्गा सावित भएको चर्चा गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रप्रकाश घिमिरेले भारतसँगको व्यापार घाटालाई कम गर्ने मुख्य क्षेत्र विद्युत् नै भएको उल्लेख गर्दै त्यसका लागि प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको बताउनुभयो ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय लगानीकर्ता नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको आफूले पाएको उल्लेख गर्दै त्यसका लागि आगामी दिनमा दुवै देशले थप सहकार्य गर्नुपर्नेमा जोड दिए।
नेपालका भारतीय राजदूत रणजीत रायले दुई देशबीचमा हुने गरेको भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको र पछिल्लो पटक भएका भ्रमणले दुई देशको प्राथमिकता कति महत्वपूर्ण छ भन्ने विषय प्रष्ट पारेको बताए।राजनीतिक अस्थिरताले आर्थिक मुद्दालाई ओझेलमा पार्ने भएकाले ती विषयलाई सल्टाएर जानुपर्छ भन्नेमा दुवै देशका प्रधानमन्त्री सहमत भएकाले आगामी दिनमा विगतका सम्झौतालाई कार्यान्वयनमा लैजान मद्दत गर्ने उनले बताए।भ्रमणमा सहभागी नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, सार्क चेम्बर अफ कमर्सका सदस्य ज्ञानेन्द्रलाल प्रधान लगायतका उद्योगी तथा व्यवसायीले प्रधानमन्त्रीको भारत भ्रमणले व्यापार तथा ऊर्जाको व्यापारका सम्बन्धमा कोसेढुङ्गा भएको बताए। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया