शपथ ग्रहण पश्चात् पोखरीमा जाल हान्दै कृषिमन्त्री

धनुषा -१७ फागुन

नवनियुक्त प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले बुधबार शपथ ग्रहणपश्चात् जनकपुरधामस्थित पोखरीमा जाल हान्दै सांकेतिक रुपमा आफ्नो विभागीय जिम्मेवारी शुरु गरेको जनाएका छन् ।

मिथिलाञ्चल क्षेत्रमा माछालाई शुभ संकेत तथा सगुनका रुपमा लिने भएको हुँदा कृषिमन्त्री साहले आफूले पोखरीमा जाल हानेर कामको थालनी गरेको संकेत दिएका हुन् ।

उनले भने, “हाम्रो प्रदेश २ कृषिमा आधारित भएकाले कृषिलाई राम्रो बनाउन सदैव तयार रहन्छु ।” उनले प्रदेशको प्रमुख आय कृषि र रेमिट्यान्स भएको भन्दै दुवै पेशालाई सम्मानित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहने बताए ।

नेपाली काँग्रेसबाट राजनीतिक यात्रा थालनी गरेका साह संघीय समाजवादी फोरम नेपालका संस्थापक सदस्य मध्येका एक मानिन्छन् । । प्रदेशसभामा सप्तरी २ को ‘क’बाट निर्वाचित साहको पृष्ठभूमि पत्रकारिता रहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया