शाखारहित बीमा सेवा सञ्चालन गर्न बाटो खुला
काठमाडौं, २७मंसिर।
बीमा कम्पनी (बीमक)ले अब शाखारहित घुम्ती बीमा सेवा सञ्चालन गर्न पाउने भएका छन् । बीमा समितिले बिहीवार ‘शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार अब बीमा कम्पनीले नजीकको शाखा कार्यालयसँगको समन्वयमा बीमितको घरमा नै पुगेर बीमालेख विक्री गर्न सक्नेछन् । यद्यपि, यसलाई अनिवार्य भने गरिएको छैन । घुम्ती बीमा सेवा सञ्चालन गर्न चाहने कम्पनीका लागि नीतिगत रूपमा बाटो खुला गरिदिएको समितिको भनाइ छ ।
तर, निर्जीवन बीमा कम्पनीले कृषिबीमा व्यवसाय गर्ने जिम्मेवारी पाएको जिल्लामा अनिवार्य रूपमा घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने छ । घुम्ती बीमा कारोबारबाट संकलन भएको बीमाशुल्क सोही दिन वा त्यो दिनपछिको बैंक खुलेको दिनमा कम्पनीको खातामा जम्मा गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
कम्पनीले घुम्ती बीमा सेवा सञ्चालन गर्न सञ्चालक समितिको स्वीकृति लिनुपर्ने छ । साथै, सूचना प्रविधिलगायत पूर्वाधारको तयारी गर्नुपर्ने छ । साथै, कम्पनीले अभिकर्ताबाट नभई कर्मचारीमार्फत घुम्ती बीमाको व्यवस्थापन गर्नुपर्ने बताइएको छ । घुम्ती बीमा सेवा सञ्चालनमा संलग्न कर्मचारीको दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
घुम्ती बीमा सेवा सञ्चालन गर्दा लघुबीमालाई प्राथमिकतामा दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । जीवन बीमा कम्पनीले यसमा सावधिक र म्यादी जीवन बीमा बीमालेखलाई प्राथमिकतामा दिनुपर्ने छ । यद्यपि, कम्पनीले रू. ५ लाखभन्दा बढीको बीमांकमा जीवन बीमा गराउन पाउने छैनन् । साथै, घुम्ती बीमा सेवामार्फत वैदेशिक रोजगारी म्यादी जीवन बीमा पनि गराउन नपाइने समितिको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया