शिवजी ! हरिया चुरा मेरा हातैभरि…
काठमाडौँ-४ श्रावण
साउनको पहिलो सोमबार पशुपति लगायतका शिवालयमा रातो, पहेलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको घुइँचो लाग्यो । पौराणिक मान्यताअनुसार साउन महिना देवताका पनि देवता महादेव शङ्कर अर्थात् शिवको महिनाका रूपमा लिइन्छ ।
पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको विश्वासमा महिलाले यसलाई बढी महत्वको रूपमा लिने गर्छन् । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस महिनालाई विशेष रूपमा लिइन्छ । प्राध्यापक श्रीकृष्ण अधिकारीले भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाका लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ । ’
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवम् कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवम् पहेँलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो, अधिकारीले भन्नुभयो ।
पशुपतिनाथ, सिफलको भण्डारेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, साँगाको बडामहादेव लगायत उपत्यकाका प्रमुख शिवालयमा एकाबिहानैदेखि भक्तजनको उपस्थिति रह्यो । पशुपतिनाथमा भक्तजनको सुविधाका लागि चारै ढोका खुला गरेर आगमन भएकै ढोकाबाटै बहिर्गमन व्यवस्था मिलाइएको थियो ।
साउन महिनाको तेस्रो सोमबारका दिन मात्र बोलबम भक्तजनको उपस्थिति रहने भएकाले पहिलो सोमबार बोलबम बाहेकका भक्तजनको पशुपतिमा भीड थियो । पशुपतिनाथ दर्शन गरेपछि सिफलको भण्डारेश्वरको दर्शन नगर्दा फल पाइन्न भन्ने मान्यताका कारण सिफलस्थित भण्डारेश्वरमा पनि भक्तजनको निकै उपस्थिति रह्यो । आजको गोरखापत्र दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया