शिव र भुवनको लोभलाग्दो सम्बन्ध

बिजनेसपाटी ५ चैत्र
नेपाली सिने क्षेत्रमा शिव श्रेष्ठ र भुवन केसीलाई सदाबहार अभिनेताका रूपमा लिने गरिन्छ। चलचित्र क्षेत्रमा लगभग एकै समय उदाएका यी दुईलाई कुनै समय नेपाली चलचित्रको धरोहर मानिन्थ्यो। २०३७ सालमा निर्मित चलचित्र जीवनरेखाबाट उदाएका शिव त्यो समयमा सर्वाधिक रुचाइएका नायक हुन्। उनले करिअरको प्रारम्भतिर जीवनरेखा, बदलिँदो आकाशजस्ता चलचित्रमा अभिनय गरेका थिए। त्यही सेरोफेरोमा भुवनले ‘जुनी’ चलचित्रमा अभिनय गरे। त्यसैले पनि सुरुसुरुमा मानिसहरूले भुवन र शिवलाई प्रतिस्पर्धी नायकको रूपमा लिएको अड्कल गर्न सकिन्छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
तर, उनीहरू भने एकअर्कालाई राम्रो साथीको रूपमा लिन्छन्। नेपाली चलचित्र उद्योगमा यी दुई अभिनेताको आ–आफ्नै स्थान छ। नेपाली चलचित्र इतिहासको दोस्रो चरणमा उदाएका यी दुई अभिनेताका कारण नेपाली चलचित्रले व्यावसायिक सफलता हासिल गरेको निर्माता–निर्देशकहरू बताउँछन्। भुवन र शिव फिल्मी क्षेत्रमा आउनुभन्दा अघि धेरै अभिनेता देखिए पनि उनीहरूले जस्तो व्यावसायिक सफलता हात पार्न सकेनन्। नेपालमा मात्र होइन, भुवन र शिवले विदेशी फिल्ममा पनि सफलता पाएका छन्। कुनै समय शिव श्रेष्ठ पाकिस्तानी फिल्म उद्योगका सुपरस्टार मानिन्थे भने भुवन पाकिस्तानी र बंगाली फिल्ममा स्थापित बने। नेपालमा मात्र नभई विदेशी फिल्म अभिनयमा पनि यी दुईबीच प्रतिस्पर्धा रह्यो। तैपनि उनीहरूबीचको सम्बन्धमा कहिल्यै वैमनष्य उत्पन्न भएन। दुवैजना एकअर्कामा असल मित्रता कायम गर्न सकेकोमा गर्व महसुस गर्छन्। समकालीन र नयाँ चलचित्रकर्मीहरू पनि भुवन र शिवको सम्बन्ध साँच्चै लोभलाग्दो रहेको बताउँछन्।
भुवन चलचित्रजगत्को अभिभावक हो : शिव
भुवन एक कुशल नायक हो। नेपाली चलचित्रमा उसको ठूलो योगदान छ। उसले चलचित्र उद्योग खस्केको अवस्थामा पनि करोडपति चलचित्र बनाएर साख बचाएको थियो। त्यसैले उसलाई मैले चलचित्रजगत्को अभिभावकको रूपमा लिने गरेको छु। साथै, भुवन राम्रो फिल्म बनाउने मान्छे हो। उसले बनाएका चलचित्र सबै हिट छन्। ऊ लभस्टोरी फिल्मका लागि माहिर छ। हामीमा राम्रो काम गर्ने कुरामा प्रतिस्पर्धा भए पनि कुनै स्वार्थ लिने हिसाबले कहिल्यै प्रतिस्पर्धाको भावना उब्जेन। त्यसैले यो सम्बन्ध यसरी नै कायम रहोस्।
शिव मिहिनेती नायक हो : भुवन
शिव एकदमै राम्रो नायक हो। उसले अभिनय गरेका चलचित्र प्रायः हिट नै हुन्छन्, जुन उसको खुबी हो। एक्सन फिल्मका लागि शिव जतिको मान्छे पाउन धेरै गाह्रो छ। ऊ मेरो सुख–दुःखमा साथ दिने असल साथी हो। उसमा केही गरौँ भन्ने भावना छ। ऊसँग मैले थुप्रै काम गर्ने अवसर पाएँ, त्यो मेरो सौभाग्यको कुरा हो। मैले शिवसँग गरेका काममा धेरैमा सफलता प्राप्त गरेको छु। त्यसैले ऊ मिहिनेती कलाकार हो। हाम्रो भेट भएको लगभग ३६ वर्ष भइसक्यो, यो अवधिमा अहिलेसम्म हाम्रो नराम्रो भन्ने भएकै छैन। यो सम्बन्ध सधैँ यसरी नै अघि बढोस् भन्नेमा भगवान्सँग कामना गर्दछु। हामी बीचमा प्रतिस्पर्धा छ भन्ने भान आमदर्शकमा परेको छ भन्ने सुन्छु। तर, हाम्रो कहिल्यै प्रतिस्पर्धा भएन। यदि प्रतिस्पर्धा गरेको भए आजसम्म हाम्रो सम्बन्ध यति राम्रो हुँदैनथ्योे होला। त्यसैले हामी प्रतिस्पर्धी नभएर हामीमा परिपूरक सम्बन्ध रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया