शुरु भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

पोखरा १८ श्रावण ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शुरु भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले बुधबार विमानस्थल निर्माण थालनीलाई औपचारिकता दिए।
चिनियाँ ठेकेदार चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन केही समय अघि देखिनै काम थालि सकेको थियो। कम्पनीका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले मन्त्री देव सम्मिलित टोलीको बैठक एवम् स्थलगत अवलोकनमा ६० कामदार र अन्य प्राविधिक गरी ११० जना व्यक्ति निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिए।  उनले शाखा कार्यालय र अस्थायी शिविरको निर्माण थालि सकेको बताएका हुन्।
एयरपोर्ट निर्माणसँगै हवाई रुट व्यवस्थित गर्न पनि अहिलेनै काम अघि बढाउन उनले मन्त्री देवलाई सुझाव दिए। विमानस्थल निर्माण भइसकेपछि तत्काल उपयोगमा ल्याउने हिसाबले हवाई रुट तय गर्नु पर्ने उनको भनाइ थियो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा पुरानो सपना भएको बताए।

स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत विषयलाई सम्बोधन गर्दै निर्माण अघि बढाउने आश्वासन समेत उनले दिए।
व्यवस्थापिका–संसद्को विकास समिति सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय खर्चिसकेको बताउँदै आगामी २०२१ जुलाई १० भित्र निर्माण सम्पन्न गर्ने जानकारी दिए।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सहयोग महत्वपुर्ण हुने बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया