शेखर बिच्किएपछि यस्तो छ देउवाको तयारी

काठमाडौं २३ श्रावण

सभापति देउवा केही नेतालाई मन्त्री बनाएर व्यवस्थापन गर्ने, केहीलाई पार्टी संगठन र विभागीय जिम्मेवारी दिएपछि मात्र पदाधिकारी चयन गर्ने तयारीमा छन् । भ्रातृ संस्थाको अधिवेशन गरेर दसैँपछि मात्र पदाधिकारी चयनको तयारी उनले गरेको देउवानिकट स्रोत बताउँछ ।

पदाधिकारीमा एक–एक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनीत गर्नुपर्नेछ । ११ केन्द्रीय सदस्य पनि मनोनीत हुन बाँकी छन् । नेता व्यवस्थापन गर्न देउवासँग पार्टी प्रवक्ता, संगठन विभाग प्रमुख, विदेश विभाग प्रमुख, प्रमुख सचेतकजस्ता पद छन् । आफ्नो भागमा परेका दुई मन्त्रालय टुंगो लागे पनि बाँकी ११ मन्त्रालयमा कांग्रेसको तर्फबाट मन्त्रीको टुंगो लगाउन बाँकी छ ।

गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मले पार्टी नेतृत्व गर्दा देउवा सधैँ विपक्षमा रहे । तर, फरक समूहका भए पनि डा. शेखर कोइरालासँग १३औँ महाधिवेशनदेखि देउवाको सम्बन्ध सुमधुर बन्दै गएको थियो । उनले शेखरलाई प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउने वचन पनि दिएका थिए । तर, अन्तिममा ‘अरू मन्त्रालय रोज्न’ भनेपछि शेखर पनि बिच्किएका छन् । ‘जागिर खान नभई काम देखाउन मन्त्री बन्ने’ शेखरले अरू मन्त्रालय अस्वीकार गरेका छन् ।

देउवा समूहबाट १२औँ महाधिवेशनपछि सहमहामन्त्री भएका पूर्णबहादुर खड्का सरकार गठनदेखिका प्रयास र छलफलमा सक्रिय छैनन् । ‘सभापतिसँग असन्तुष्ट भएर होइन, उहाँले सरकारमा जान्न भन्दै आउनुभएको थियो,’ देउवानिकट स्रोत भन्छ, ‘सम्भवतः महामन्त्रीको प्रतीक्षामा हुनुहुन्छजस्तो लाग्छ ।’  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया