शेयर धितोमा बैंक तथा वित्तीय संस्थाको कर्जा ७० प्रतिशतले बढ्यो

काठमाडौं  ०५ चैत्र २०७७।

चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले ७७ अर्ब ३५ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा ७०.६ प्रतिशत बढेको हो । २०७६ माघमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ४५ अर्ब ३५ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

गत असारको तुलनामा पुससम्म बैंक तथा वित्तीय संस्थाको यस्तो कर्जा ५३.५ प्रतिशत बढेको छ । गत असारमा यस्तो कर्जा ५० अर्ब ४० करोड रुपैयाँ थियो । सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएका हुन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) धेरैले बढेको छ । कोरोनाको प्रभाव कम हुँदै गए पनि अझै अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा फर्किन सकेका छैनन्, जसकारण ती क्षेत्रबाट अपेक्षित रूपमा धेरै कर्जा माग हुन सकेको छैन । तर सेयर बजार भने निरन्तर रूपमा उकालो लागिरहेको छ । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा विस्तार गरेको जानकारहरू बताउँछन् ।

लकडाउन खुकुलो भएपछि सेयर बजार निरन्तरजसो उकालो लागेको छ । अधिक तरलताका कारण ब्याजदर निकै तर ओर्लिएको छ । यसअघि शेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि शेयर कर्जाकै लागि छुट्टै प्रडक्ट बनाएर बजार आएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सेयर धितोमा कर्जा विस्तार उल्लेख्य भएको देखिन्छ । गत आर्थिक वर्षको उक्त अवधिमा यस्तो कर्जा वृद्धिदर ०.१ प्रतिशतले ऋणात्मक थियो ।

चालु आर्थिक वर्षको सात महिनासम्म व्यक्तिगत ओभरड्राफ्ट कर्जा पनि १४.८ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशत वृद्धि भएको थियो । व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि सेयर बजारमा गएको बताइएको छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यसकारण बजार बढेसँगै व्यक्तिगत ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले धेरै रकम सेयर बजारमा गएको विश्लेषण गरिएको छ । यस विषयमा राष्ट्र बैंक पनि जानकार छ । सोही कारण मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्टमा कडाइ गर्ने व्यवस्था राष्ट्र बैंकले घोषणा गरेको थियो । तर बाह्य दबाबका कारण उक्त व्यवस्था कार्यान्वयन गर्न सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया