शेयर बजार बढ्न सक्ने ३ आधार

सगिता सुबेदी

काठमाण्डौ १० मंसिर २०८० ।
साताको पहिलो दिन आज आइतबार बजारमा उछाल आएको छ । शेयर बजार आज एकैदिन बढेर १९०७‍.९५ विन्दुमा पुगेको छ । यसअघि बजारले उत्साह छर्न सकिरहेको थिएन । आजको बजार ४७ अंकले बढेर १९०७.९५ मा पुगेको छ भने दुई अर्ब रुपैयाँ भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । करिब २ महिनापछि मात्रै कारोबारले २ अर्ब नाघेको हो । यसअघि ९ असोजमा २ अर्बमाथिको कारोबार भएको थियो ।
बजार बढ्न सक्ने ३ आधार
खासगरी लघुवित्त, फाइनान्स र बैंकहरु समेतका ऋणीहरुलाई उक्साएर लिएको ऋण मिनाहा गराइ छाड्ने भन्दै देशभरबाट मान्छेहरु बटुलेर काठमाण्डौमा आन्दोलन गर्न आएका मेडिकल ब्यवसायी दुर्गा प्रसाईको आन्दोलन एक हिसावले तुहिँदा पनि बजारमा चमक आएको हो । आवरणमा ऋण मिनाहा गर्ने भनिए पनि राजतन्त्र फर्काउने मनशुवाले गरिएको सो आन्दोलनलाई सरकार र दलहरु मिलेर फिक्का गरिदिएको छ । दुर्गा प्रसाइको नाजायज माग र फण्डाले गर्दा पनि बजारमा एक हिसावको ठुलै त्रास थियो । जसको असर प्रत्यक्ष रुपमा शेयर बजारमा परेकोमा उनको आन्दोलन निस्प्रभावी बनेसँगै लगानीकर्ताहरुमा आत्मविश्वास बढाएको छ । त्यसले गर्दा आगामी दिनमा शेयर बजार उकालो लाग्ने आधार सिर्जना भएको छ । प्रसाइको ऋण मिनाहा आन्दोलन करिव निस्तेज भएको छ ।
दोश्रो, अर्थतन्त्र सुधार गर्ने सरकारको पहलले गर्दा पनि बजारले उचाइ लिने देखिन्छ । ब्याजदर एकल अंकमा झरेको छ । ब्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ९.६३ प्रतिशतमा झरेको छ । दोहोरो अंकमा रहेकाे बैंककाे ब्याजदर एकल अंकमा झरेका छन् । सोसँगै बैंकहरुको ऋण प्रवाह बढ्न थालेको छ । सरकारलेले अर्थतन्त्रका बाह्य सुचक उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा सिर्जित समस्या हल गर्न सरोकारवाला सबैलाई बोलाएर प्रधानमन्त्रीले छलफल गरे । सोही छलफलको निष्र्कष्ष अनुसार ब्याजदर घटाउने, ऋणिहरुको पुर्नरतालिकिकरण गर्ने तथा आगामी बैशाखमा बृहत लगानी सम्मेलन गरेर विकास निर्माणमा जोड दिने अभियान थालिसकेको छ । जसले गर्दा अर्थतन्त्रको लागि भावी दिनहरु उज्वल रहने देखिन्छ ।

तेश्रो, राष्ट्र बैंक मौद्रिक नीतिको समीक्षा गर्ने तयारीमा जस मार्फत केही सुधार हुने आँकलन गरिएको छ । सो समीक्षा मार्फत शेयर बजारको बाधअड्चन फुकाउने तयारी देखिन्छ ।त्यसले पनि प्रभाव परेको देखिन्छ ।धितोपत्र बोर्डले म्युचुअल फन्डहरुले आरक्षणमा पाएको शेयर ६ महिनाका लागि लक हुने व्यवस्था गरेको छ । जसले बजारमा फण्डमार्फत आएको सप्लाईलाई नियन्त्रण गर्ने देखिएर पनि बजार बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया