शौचालयमा यसरी हुदो रहेछ डलरको लेनदेन, नेपाल एयरलाइन्सका इन्जिनियर विष्ट पक्राउ

काठमाडौं–२१ असार

एयरलाइन्स तथा विमानस्थलमा कार्यरत विभिन्न कम्पनीका कर्मचारीबाटै विमानस्थलको सुरक्षामा चुनौती देखिएको छ । विमानस्थलमा डलर तस्करीदेखि लगेज चोरीसम्म कर्मचारीकै संलग्नता हुने गरेको भेटिएको छ ।arrest

आइतबार नेपाल एयरलाइन्सका कर्मचारी डलर तस्करीको आरोपमा पक्राउ परेका  छन् । एयरलाइन्सका  इन्जिनियर रञ्जितलाल विष्ट चार हजार चार सय ५० अमेरिकन डलरसहित पक्राउ परेका हुन् । सिरहाका सुरेशकुमार दासले उनलाई डलर दिएका थिए ।

शौचालयमा डलर लेनदेन गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । दास दुबई जान लागेका थिए । चेकिङमा डलर फेला पर्ने भएकाले सो डलर इन्जिनियर विष्टमार्फत चेकिङ एरिया कटाएर उनले डलर तस्करी गर्न लागेको प्रहरीले जनाएको छ । एयरपोर्टका कर्मचारीलाई चेकजाँच नहुने र जहाँ पनि जान पाउने भएकाले उनले  कर्मचारीमार्फत तस्करी गर्न खोजेका हुन् ।

चार दिनअघि मात्र विमानस्थलकै कर्मचारी भरत सञ्जेललाई प्रहरीले आठ हजार डलरसहित पक्राउ गरेको थियो । डलर तस्करी गर्ने समूहले नै उनीमार्फत त्यसरी तस्करी गराउन खोजेको थियो । एक सातामा दुईजना कर्मचारी डलरसहित पक्राउ पर्नुले विमानस्थलबाट संगठित रूपमा डलर तस्करी हुँदै आएको प्रस्ट भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया