शौचालय निर्माणको कार्य तीव्ररुपमा

काठमाडौँ  ३ मंसिर

लहान -सिरहा जिल्लाका गाउँगाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र गतिमा भइरहेको छ। सिरहा जिल्लालाई सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २२ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेको जनाइएको छ।  घरघरमा शौचालयको पहुँच पुर्‍याएर खुल्ला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २२ वटा गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका प्रमुख राजेश कुशवाहाले जानकारी दिए। घोषणा गर्न बाँकी ४१ वटा गाविसमा पनि तीव्ररुपमा शौचालय निर्माणको काम भइरहेको प्रमुख कुशवाहाले बताए।

सिरहाका विभिन्न नगरपालिकाका १४ वटा वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र जिल्लाको तुलसीपुर, पिप्रा प्रपी, सीतापुर प्रध, खुरकियाँही, डुमरी, महनौर र बेला गाविस तथा सिरहा नगरपालिका-१४ खिरौना, सुखीपुर नगरपालिका-४ र गोलबजार नगरपालिका-१ मुक्सारलाई मङ्सिर १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको प्रमुख कुशवाहाले जानकारी दिए।  सरसफाइको दृष्टिकोणले नेपालको ७४ औँ स्थानमा रहेको सिरहामा शौचालयको पहुँचसँगै सरसफाइको अवस्थामा सुधार आएको छ। शौचालय निर्माण अभियान सुरु हुँदा सिरहामा शौचालयको पहुँचमा २१.२ प्रतिशत घरधुरी रहेकामा हाल ६७ प्रतिशतमा शौचालयको पहुँच पुगेको जिल्ला खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय, लहानका इन्जिनियर कृष्ण साहले बताए।  सन् २०१५ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गत वर्षको मधेस आन्दोलनका कारण प्रभावित भएको थियो। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया