संझनामा गणेशमान : जसले प्रधानमन्त्री पद त्यागे
राजाराम कार्की
गणेशमानसिंह अर्थात नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर। २०५४ साल असोज २ गते गणेशमानले संसार छाडेका थिए। उनको मृत्युको १८ वर्षपछि नेपालमा संविधानसभाबाट संविधान जारी भयो। नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता गणेशमानसिंहको स्मृतिमा प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ। पछिल्लो १ वर्षयता कांग्रेसले संविधान दिवस र गणेशमान सिंहको स्मृति दिवस एकसाथ मनाउँछ। यसपटक कांग्रेसले असोज २ र ३ गते गणेशमान सिंहको स्मृतिमा देशव्यापी अन्तरक्रियाको आयोजना गर्यो। पार्टीको केन्द्र, जिल्ला तथा क्षेत्रीय समिति भ्रातृ, शुभेच्छुक संस्था एवम् प्रतिष्ठानहरुले गणेशमानको व्यक्तित्व, योगदान र प्रजातन्त्रप्रतिको उनको निष्ठाका विषयमा अन्तरक्रियामा छलफल गरे। अधिकांश स्थानमा आयोजित समारोहमा वक्ताहरुले सिंहको योगदानको प्रशंसा गर्दै उनले देखाएको बाटोको अनुशरण गर्नुपर्ने धारणा राखेका थिए। विभिन्न सभा समारोहमा काँग्रेसले बाटो बिराएको, नेता र कार्यकर्ता पङ्क्ति गुट उपगुटमा विभाजन भएको, बिपीको आदर्श मूल्य र मान्यतालाई भुलेर पद, पैसा र प्रतिष्ठाका लागि काँग्रेसमा राजनीति गर्नेको लर्को लामबद्ध भएको टीकाटिप्पणी सुनिएको छ ।
गणेशमान सिंह प्रतिष्ठानले राजधानीमा गरेको एक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सिंहले अङ्गिकार गरेको पार्टीप्रतिको अनुशासन र समयलाई काँग्रेसजनले भुल्दै गएकामा चिन्ता व्यक्त गरे। ‘नेपाली काँग्रेसभित्र सिंहको मुक्तकण्ठले प्रशंसा गर्ने लर्को धेरै नै देखिन्छ । तर उहाँले लिएको विचारको अनुशरण गर्ने मानिस मैले देख्न छोडिसके।’ नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका पार्टी सभापति एवम् सांसद मदन अमात्यले भक्तपुरमा आयोजित कार्यक्रममा भने। प्रधानमन्त्री पद त्यागे गणेशमान सिंहलाई प्रजातन्त्रका पीतासमेत भन्ने गरिन्छ। राजा स्व वीरेन्द्रले २०४६ साल पछाडिको अन्तरिम सरकारमा उनलाई प्रधानमन्त्री भइदिन आग्रह गरेका थिए। उनले आफूभन्दा पनि अर्का व्यक्ति अर्थात् सन्तनेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पदका लागि सिफारिस गरेर सर्वसाधारणलाई त्यागको उदाहरण देखाए। प्रजातन्त्रका ढुकढुकीका रुपमा समाजले अहिले पनि सिंहलाई आदरपूर्वक लिने गर्छन् । खानदानी परिवारमा जन्मेर पनि जनताको दुःखको मुक्तिका लागि स्व.सिंह प्रजा परिषद्को सदस्यता लिएर राजनीतिमा होमिएका छन् । विसं १९९७ मा स्थापना भएको नेपाल प्रजापरिषद् पहिलो राजनीतिक पार्टी हो ।
पार्टीको सदस्यता लिएपछि उनी राणाहरुको अत्याचारविरुद्ध लड्न तत्कालीन राणा हटाउ अभियान्ताका रुपमा राजनीतिमा आएका थिए। यसरकारण लागेका थिए राजनीतिमा गणेशमानको जन्म १९७२ सालमा काठमाडौँमा भएको थियो । उनका समकक्षी पूर्व सांसद लेखनाथ न्यौपानेका अनुसार सिंहले बारम्बार दलगत स्वार्थभन्दा देश र प्रजातन्त्र ठूलो हुन्छ भन्ने गर्दथे। सिंह सत्य कुरामा कहिल्यै कसैसँग नडराउने र नझुक्ने निर्धक्कसँग बोल्ने निडर नेता रहेको न्यौपाने बताउँछन्। सम्भ्रान्त परिवारका सिंह साइकल लिएर स्कुल जान्थे। त्यसैले, उनले साइकल चढेकामा तत्कालीन राणाहरु उनको इष्र्या गर्थे । एकपटक राणाहरुले साइकल तोडफोड गरेपछि उनी कुटपिटमा उत्रिए। राणासँग सम्झौता होइन लड्नुपर्छ, अन्याय सहने होइन, त्यसको विरुद्धमा लड्नुपर्छ भन्ने गर्दथे, सिंह। यस घटनापछि सिंहमा राणाविरोधी मानसिकता विकास भयो र उनले प्रजातन्त्रका लागि लड्ने संकल्प गरे। त्यसपछि उनले राणाशाही र निरङकुश राजतन्त्रको विरोधमा जीवनभर लडे। जनताले राणाको अत्याचारविरुद्ध बोल्न नपाउने र जनताको छोराछोरीले पढ्न नहुने राणाको अत्याचारविरुद्ध २००७ सालमै धावा बोलेका सिंहले २०४६ सालमा वामपन्थी शक्तिलाई एकजुट गरी पञ्चायतविरुद्ध लड्दै मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना गराई नयाँ संविधान दिलाएका थिए। ‘प्रजातन्त्र र राष्ट्रियता एक सिक्काका दुईपाटा हुन् ।’ लौहपुरुष सिंह भाषणमा सधैँ भन्ने गर्दथे। त्यसैले होला ! भद्रगोल जेल फोडेर उनी भारत समेत पुगे। उनले बिपी कोइरालालाई २००३ सालमा नेपाली काँग्रेस पार्टीको २००३ स्थापना गर्न साथ दिए। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सिंह प्रतिबद्ध, अठोट भएको मुक्तियोद्धाका रुपमा उनलाई चिनेको बताउँछन्। प्रजातन्त्रका खातिर हरेक आरोह अवरोह, पटकपटकको जेल जीवन दुःख र हन्डरका बाबजुत उनको नेपाली काँग्रेसको झापा जिल्लाको कलबलगुढीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सिँहको मतभेद हुनपुग्यो । त्यसपछि उनले कांग्रे पार्टी परित्याग गरे, तर काँग्रेसले उनलाई कहिल्यै बिर्सिएन।
रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया