संसदबाट अध्यादेशको विरोध गर्ने माओवादीको निर्णय

काठमाण्डौ १६ माघ २०८१

नेकपा (माओवादी केन्द्र)ले सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट त्यसको खबरदारी गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार सरकारले ल्याएको अध्यादेशहरू लोकतन्त्र सवलिकरण गर्ने प्रक्रियाबाट नआएको र प्रक्रियामा नै त्रुटि रहेको भन्दै विरोध गर्ने निर्णय भएको हो। उनले भने, ‘६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी छ। समितिमा रहेका विधेयक फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ।’

साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको पाण्डेले जानकारी दिए। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी निर्णयअनुसार संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया