संसदमा लोकमानविरुद्ध सांसदहरु गगन थापा, रवीन्द्र अकिारी यसरी गर्जिए

काठमाडौं १० कार्तिक
व्यवस्थापिका संसदमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

मंगलबारबाट सुरु भएको छलफलको सुरुमै महाअभियोगका प्रस्तावक तथा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नुपरेको कारणहरु उल्लेख गरेका थिए ।

भानुभक्त ढकाल

त्यसपछि प्रस्तावका समर्थक एमालेका सांसद तथा प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख कार्कीले राजनीतिक नेतृत्वमा आतंक फैलाउने काम गरेको आरोप लगाए । उनले भने,‘विभिन्न विषयमा लोकमानले कानुन हातमा लिन खोजे । प्रधानमन्त्री भारत भ्रमणमा रहेको र उच्चस्तरीय भेटघाट गर्न लागेको समय पत्रकार सम्मेलन गरेरै प्रधानमन्त्रीका विरुद्ध छानविन गर्छु भन्नु के हो ?’

उनले लोकमानले शाही शासनका बेला भन्दा पनि बढी आतंक फैलाउने काम गरे । ‘त्यसैले यो कदम आवश्यक थियो र सोही अनुसार अघि बढ्यौं,’ उनले भने । ढकालले महाअभियोगको प्रस्तावलाई कुनै दल विशेषको रुपमा नभई साझा एजेण्डाका रुपमा लिन पनि सबैलाई आग्रह गरे ।

गगन थापा

त्यस्तै बैठकमा नेपाली कांग्रेसका सांसद तथा स्वाथ्यमन्त्री गगन थापाले लोकमानको नियुक्ति र महाअभियोग प्रकरणबाट पाठ सिक्नुपर्नेतर्फ सचेत गराए । उनले भने, ‘लोकमानजस्तो कलंकित व्यक्तिलाई नियुक्ति नगरौं भनेर हामीले आग्रह गर्दा सबैले हुन्छ भन्नुभएकै हो तर पछि नियुक्ति गरेपछि हामीले सकेनौं भन्नुभयो ? किन सक्नुभएन त्यो जवाफ छाती फुकाएर दिन नसक्दासम्म फेरि पनि यहि अवस्था नदोहोरिएला भन्न सकिन्न ।’

थापाले यो विषयलाई राजनीतिक दाउपेचको विषय बनाउनु नहुने भन्दै सबै दल एकजुट भएर संविधान कार्यन्वयनका लागि राजनीतिक सहमतिको वातावरण निर्माण गर्न आग्रह गरे ।

रवीन्द्र अकिारी

त्यस्तै नेकपा एमालेका सांसद रवीन्द्र अकिारीले हरेक विषयलाई सत्तासँग जोडेर हेर्न नहुने बताए । उनले भने, ‘हात हल्लाउँदा हातैमा, पात हल्लाउँदा पातैमा गर्ने बानीले हामी कहाँ पुग्छौं ? महाअभियोग प्रस्तव विधिको शासन स्थापित गर्ने एउटा साझा प्रस्ताव हो । यसलाई सत्तासँग जोड्नु हुँदैन ।’

उनले एउटा संवैधानिक निकायको प्रमुख न्यायलय र जनताको प्रतिनिधित्वलाई कसरी अपहेलना गर्न सक्छ भनी प्रश्न गरे । उनले भने, ‘हामीले परिकल्पना गरेको अख्तियार न्यायलय नमान्ने हो ? हामीले परिकल्पना गरेको अख्तियार व्यवस्थापिका संसद नमान्ने हो ? संवैधानिक प्रमुखको यस्तो हर्कतले संतुलित लोकतन्त्रको अपेक्षा गर्न सकिन्छ ? यी सबै कर्तुतका लागि महाअभियोग नै र्निविकल्प उपाय थियो ।’

रामहरी खतिवडा

छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले करिब ४ वर्ष पहिले लोकमानलाई सिफारिस र नियुक्ति गर्ने राजनीतिक नेतृत्वले संसदमा उभिएर जवाफ दिनुपर्ने बताए । उनले भने,‘सबै नेताले सर्वोच्चलाई मान्नुपर्छ र मान्दै पनि आएका छन् । तर लोकमान सार्वोच्चले बोलाउँदा उपस्थित हुनु पर्दैन । हामीले श्री ५ को सरकारलाई फाल्यौं तर लोकमान श्री ६ भएर आए ।’

सिपी मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले अहिले महाअभियोग प्रस्ताव गर्ने दलका शीर्ष नेताहरुले नै लोकमानको नियुक्ति गरेको बताउँदै माले महाअभियोगको पूर्ण समर्थनमा रहेको बताए ।

त्यस्तै राप्रपा नेपाली सांसद कुन्ती शाहीले राष्टिय महत्व बोकेको महाअभियोग जस्तो विषयमा आफुहरुसँगछलफल नभएकोमा असन्तुष्टि पोख्दै समयआएपछि पार्टीले उपयुत्तः निर्णय लिने बताइन् ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र देवले प्रस्ताव पारदर्शी रुपले अघि बढ्नुपर्नेमा जोड दिंदै यो मुद्धाले दलहरुबीच राष्टिय सहमतिको सुरुवात हुनुपर्ने बताए ।

छलफलमा सहभागि हुँदै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगर, राष्टिय जनमोर्चाकी मीना पुन, परिवार दलका सांसद एकनाथ ढकाल लगायतले लोकमानले संवैधानिक मर्यादा भन्दा बाहिर गएर काम कार्वही गरेकाले उचित छानवीन र कार्वाही हुनुपर्ने माग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया