संसदवादीहरुले डकैती शैलीमा सहिदको परिभाषा फेर्दैछन्ः धर्मेन्द्र वास्तोला

काठमाडौं ३२ श्रावण 
नेकपा माओवादीका स्थायी समिति सदस्य  धर्मेन्द्र वास्तोलाले संसदवादीहरु सहिदको परिभाषा बिगार्न लागि परेको बताएका छन् ।
‘दोरम्बा हत्याकाण्ड चौधौं स्मृति दिवस’ कार्यक्रममा नेता वास्तोलाले सो कुरा बताएका छन् ।
रामेछाप–काठमाडौं जनगणतन्त्र सम्पर्क मञ्चले अनामनगरस्थित संवाद डबलीमा आयोजना गरेको सोे कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य वास्तोलाले भने ‘संसदवादको कथित तागतको बलमा सहिदको परिभाषा परिवर्तन गरेर सच्चा सहिदको अपमान गर्न लागेका छन् ।’
सहिदको अपमान हुनेगरी वर्तमान सरकारले जथाभावी रुपमा सहिदको सूची तयार पारिरहेको वास्तोलाको भनाई छ ।
जनयुद्धका सहिदहरुको बलिदानकै कारण सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव भएको बताउँदै तिनै सहिदहरुको सपना, लक्ष्यमाथि जनयुद्धको नेतृत्वकर्ताले धोका दिएका बताए ।
‘तिनै सहिदको सपना र लक्ष्य पूरा गर्त नेकपा माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारिएको हो’ उनले भने ‘यसैले सबैखाले उत्पीडनलाई मुक्त गर्न सकिन्छ ।’
कार्यक्रममा नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं पूर्वी ताम्सालिङ इन्चार्ज भरत बम ‘रणवीर’, पोलिटब्यूरो सदस्य एवं जनकपुर इन्चार्ज ओमप्रकाश पुन, केन्द्रीय सदस्य चिरन पुन, जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष राजु कार्की लगायतले दोरम्बा हत्याकाण्डका सहिदहरुको सपना पूरा गरेर छाड्ने अठोट व्यक्त गरेका थिए ।
रामेछाप जिल्ला सेक्रेटरी इन्द्र श्रेष्ठले दोरम्बाका सहिदहरुले देखाएका मुक्ति यात्रालाई एकीकृत जनक्रान्तिले पूरा गर्ने लक्ष्य बोकेको बताउँदै सबैजना गोलबन्द हुनु आवश्यक भएको बताए ।
कार्यक्रममा कवि पूर्ण बिराम, बैरागी जेठा, मोहनलाल घिसिङ, श्यामबहादुर भावुक, रामचद्र दाहाल, अृमता स्मृति, अशोक सुवेदी, झनक श्रेष्ठ, चिन्तमणी घिमिरे, महेन्द्र राईलगायतले दोरम्बा हत्याकाण्डबारे कविता वाचन गरेका थिए ।
जनयुद्धका क्रममा नेकपा माओवादी र सरकारीच वार्ता चलिरहेको बेला २०६० साउन ३२ गते रामेछापको दोरम्बामा स्थानीय युवराज मोक्तानको घरमा पार्टीको क्षेत्रीय स्तरको बैठक बसिरहेको अवस्थामा तत्कालीन शाही सेनाको रामेछाप डाँडाबाट खटिएका मेजर राममणि पोखरेलको नेतृत्वमा गएको टोलीले जिल्ला जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’सहित निसशस्त्र २१ माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिई गोली हानी हत्या गरिएको थियो ।
हत्यालगत्तै नेकपा माओवादी र सरकारबीच चलिरहेको वार्ता भङ्ग भएको थियो । उक्त वार्तामा माओवादीको तर्फबाट वार्ता टोली संयोजक हाल नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई थिए ।
कार्यक्रममा अग्निराज पौडेल ‘अराप’ र पासाङ बिक्रम लामा ‘मंगोल पुत्र’ ले दोरम्बा हत्याकाण्डलाई चित्रमा उतारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया