संसदीय पद्धतिको फोहोरी खेल सुरु भयो: डा भटृराई

काठमाडौँ ६ साउन ,
बर्दिबास-पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले परम्परागत संसदीय पद्धतिको फोहोरी खेल संसदमा सुरु भएको बताएका छन्।  महोत्तरीको बर्दिबास आईपुगेका भट्टराईले बिहीबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा सरकार बनाउने र ढाल्ने गलत परम्पराले स्थिर सरकार बन्न नसक्दा विकास कार्य अस्तब्यस्त हुने गरेको बताए।
‘हाम्रोजस्तो मुलुकमा स्थिर र जनमुखी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हुनुपर्ने हाम्रो भनाइको औचित्य संविधान घोषणाको नौ महिनामै पुष्टि भयो’ डा भट्टराईले भने। ‘वर्तमान सरकार जनतालाई सुशासनको अनुभूति दिन, भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन र बैदेशिक सम्बन्ध सुमधुर र सन्तुलित राख्न असफल त भएकै हो’ डा भट्टराईले भने, ‘तर, यसलाई ढाल्न उद्यत् दलसँग पनि मुलुक सञ्चालनको स्पष्ट खाका भने छैन।’
पछिल्लो पटक देखिएको अविश्वास प्रस्ताव अमुक÷अमुक दलको सत्ता चढ्ने भर्याङको रङ्गमञ्चमात्र रहेको डा भट्टराईको भनाइ छ। मुलुकको अहिलेको आवश्यकता आर्थिक समृद्धि रहेको बताउँदै डा भट्टराईले आफ्नो अभियान यही अभिष्ट प्राप्तिमा केन्द्रित रहेको दाबी गरे। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया