संसद देश र जनताका समस्यामा केन्द्रीत भएनः सांसद भगबती चौधरी

काठमाडौं, फागुन २८ । नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रीत हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताउँदै सम्मानीत संसदमा अनर्गल प्रचारबाजी हुनु दुखःद भएको बताउनु भएको छ ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीले संसदलाई आरोपप्रत्यारोपको थलो बनाउन नहुने बताउनु भएको हो ।

पछिल्लो समय मुलुकले व्यहोरिरहेको बेरोजगारी, युवा पलायन, महिला हिंसा लगायतका विषयहरु संसदमा प्रवेश नपाउँदा जनताका विषयहरु गौण भइरहेको बताउँदै सांसद चौधरीले राजनीतिक दलहरुलाई देश र जनताका पक्षमा एकबद्ध भएर अगाडी बढ्न अनुरोध गर्नुभयो । ‘हिंसामुक्त समाज, बेरोजगारीको अवस्था, युवा पलायनको अवस्था, निराशाका विषयहरुलाई टेवल टक गरौं । सबै पार्टीहरु एकजुट भएर नेपालको रणनीति कस्तो हुनुपर्छ ? भन्ने विषयमा छलफल गरौं ।’ सांसद चौधरीले भन्नुभयो ।

विज्ञान, प्रविधि र एआईको जमानामा नेपाललाई त्यसतर्फ डोहोर्याउन, युवाहरुलाई स्वदेशमै टिकाउने सवालमा बहस र छलफल हुन नसकेको उहाँको भनाई छ । कानुनले महिलाहरुलाई कार्यकारी भूमिका सुनिश्चित गरेपनि व्यवहारत लागू हुन नसकेको उहाँले जिकीर गर्नुभयो ।

उहाँले संसदमा बर्तमान सरकारका प्रमुखलाई हिटलर भनेको प्रतिपनि आपत्ति जनाउनु भयो । सोमबार मात्रै राजसँस्था फर्काउने भन्दै सडक तताउने कार्य गलत भएको तर्क गर्दै संबैधानिक तवरबाट जो कोही आएपनि फरक नपर्ने बताउनु भयो । ‘श्री ५ सरकारदेखि लिएर श्री ३ महाराजहरु पनि फर्काउने होकी, २२ से २४ से पनि आउने हो की ? जे जस्तो कुरा भएपनि संबैधानिक तबरले जे भन्छ त्यही भए फरक पर्दैन ।’ संविधान र लोकतान्त्रिक पद्दतिबाट मुलुकलाई अगाडी बढाउन सबै जना साझा मुद्दाहरुमा एक हुनुपर्ने सांसद चौधरीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया