सगरमाथाको टाकुराबाट विश्वलाई हेर्नसक्ने भएका छौँ -प्रम ओली
काठमाडौँ १५ श्रावण
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले निर्धारण गरेको बाटो हिँड्न अब बन्ने नयाँ सरकार बाध्य हुने बताएका छन्।
एभिन्यूज टेलिभिजनको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने – “अहिलेको भन्दा बाटो दायाँबायाँ ग¥यो कि जनताले थाहा पाइहाल्छन् ।”
उनले आफ्नो कार्यकालमा मुर्छित सपनाहरुलाई ब्यूँझ्याउने काम भएको पनि टिप्पणी गरे।
उनले भने – “मुलुकलाई एकातिरको निर्भरताबाट बाहिर निकालेर फराकिलो बाटोमा ल्याएका छौँ, सगरमाथाको टाकुराबाट विश्वलाई हेर्नसक्ने भएका छौँ ।”
वर्तमान सरकारले युरेनियम, फलामखानी, पेट्रोलियम खानी, नुनखानी पत्ता लगाएको र अब त्यसको उपयोग गर्नुपर्नेमा पनि जोड दिए।
प्रधानमन्त्रीले भने– “हाम्रो देशको माटो, ढुङ्गामा समेत बहुमूल्य धातु पाइन्छ, यो देश हिरा, रत्न र मणीको खानी भएको देश हो ।”
आफूले रेलको कुरा गर्दा कसैले जिस्काए पनि निकट भविष्यमा नेपाली जनताले रेल चढ्न पाउने कुरालाई उनले दोहोर्याए।
उनले नवलपरासीमा फलामखानीको पहाडै भएपनि सियोदेखि फालीसम्म विदेशबाट ल्याउनुपर्ने अहिलेको बाध्यताबाट मुक्त हुन आवश्यक रहेको धारणा राखे।
सरकारले जनमुखी कार्यक्रम ल्याएपछि केही पार्टीका नेताले आफ्नो पार्टी अब साइनबोर्डमा मात्रै सीमित हुने चिन्ता व्यक्त गरेको पनि प्रधानमन्त्रीले खुलासा गरे।
उनले भने– “हामीले जनता आवास कार्यक्रममार्फत गरिब जनतालाई २० हजार घर वितरण तथा सिँचाइको व्यवस्था गर्दै थियौँ, अनि अरुलाई निद्रा लाग्छ त ?, उनीहरुको नीँद हराम भयो ।” रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया