सञ्चारकर्मी माथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
काठमाडौं, चैत ६, २०८१ । सञ्चारकर्मी अजय हाकुजूलाई गरिएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ, हिमाल मिडिया प्रतिष्ठान शाखाले निन्दा गरेको छ। हाकुजू फोटो पत्रकार हुन् ।
मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा पाटन संयुक्त क्याम्पसमा विवादपछि भएको झडपको तस्वीर खिच्ने क्रममा हाकुजूलाई आक्रमण गरिएको थियो। हाकुजूको मुखमा चोट लागेको छ।
आक्रमणमा संलग्नको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन महासंघको हिमाल प्रतिष्ठान शाखाले माग गरेको छ। हाकुजूले लाठी, रड बोकिरहेका युवाको फोटो खिचेपछि उनीहरूले मेट्न लगाएका थिए। हाकुजूले फोटो मेट्दै गर्दा उनलाई एक्कासि आक्रमण गरिएको थियो। प्रहरी आएर उनलाई जोगाएको थियो।
नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) चुनावका क्रममा विवादपछि झडप भएको थियो। उनीहरूले फर्जी विद्यार्थी भर्ना गरेको, नक्कली परिचयपत्र बोकाएर भोट खसाल्न पठाएको आरोप एकअर्कालाई लगाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया