सनराइज बैंकको बिशेष साधारण सभा सम्पन्न

काठमाडौँ २० जेठ ।
सनराइज बैंक लिमिटेडको आज बिशेष साधारण सभा सम्पन्न भएको छ । सभाले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई एक्विजिशन गर्ने बिशेष प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष मोतीलाल दुगडको अध्यक्षतामा साधरणसभा सम्पन्न भएको हो । बैंकले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्वन्धी अन्तिम सम्झौता पारित गर्न विशेष साधारणसभा बोलाएको हो । साधारणसभाबाट एक्विजिशन प्रस्ताव पारित भईसकेकोले अन्तिम स्वीकृतीको लागि राष्ट्र बैंकमा निवेदन दिने बैंकले जनाएको छ ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) अनुसार सनराइज बैंकको १ सय कित्ता बराबर नारायणी फाइनान्सको ७७ कित्ता शेयर कायम हुने बताइएको छ। यद्दपी स्वाप रेशियोबारे आधिकारिक धारणा बाहिर आइसकेको छैन । नारायणी फाइनान्स सनराइज बैंकमा गाभिए पनि कम्पनीको नाम सनराइज बैंक नै रहने भएको छ । सनराइज बैंकको संचालक समितिमा फाइनान्सका तर्फबाट एक जना सञ्चालकको प्रतिनिधित्व हुनेछ। नारायणी नेशनल फाइनान्स सनराईज बैंकमा गाभिएपछि सनराइज बैंकको चुक्ता पुंजी झन्डै ४ अर्ब, निक्षेप संकलन ५० अर्व, कर्जा प्रवाह ४३ अर्ब पुग्ने छ।
बैंकको हाल ३ अर्ब ३३ करोड रूपैयाँ चुक्ता पुंजी रहेको छ। चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा बैंकले ५८ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। त्यस्तै सनराइज बैंक लिमिटेडको शाखा अब ६७ वटा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया