सनातनि दम्भ !
आनन्दराम पौडेल
हामी जुन समाजमा छौं, त्यहाँ हामीले यो भोगिरहेका छौं। भर्खरको एउटा ताजा घटना बताइहाल्छु है।
ब्राह्मण @BramhanManu नामको ट्विटरह्याण्डल छ। उहाँले यो लेखेर ट्विटरमा पोष्ट गर्नुभयो।
“जन्मना जायते शुद्रः कर्मणा द्विज उच्यते” भन्ने श्लोक निक्कै दुरुपयोग भयो ।
ब्राह्मण हुन जन्म र कर्म दुवै आवश्यक छ । दुई-चार संस्कृतका श्लोक कण्ठस्थ पारेकै भरमा अन्य जाती/वर्णका व्यक्ती ब्राह्मण हुन सक्दैनन् । कुल, वंश, कोख र कर्म ब्राह्मण हुनैपर्छ।”
ब्राह्मण @BramhanManu जीको उपरोक्त स्टाटस पढेपछि हामीले उहाँकै स्टाटसमा यो टिप्पणि लेख्यौं –
कुनै बाहुनको जात, थरमा जन्मदैमा कोही ब्राह्मण हुँदैन; यो जति सत्य हो, त्यत्तिकै सत्य यो हो कि कर्म, आचरण, संस्कारले कोहीपनि ब्राह्मण हुनसक्छ।
१. ऐतरेय ऋषि, एकजना अपराधी दासका पुत्र थिए। परन्तु कर्म, आचरण, संस्कारबाट उच्चकोटीको ब्राह्मण भए। ऐतरेय ब्राह्मण र ऐतरेय उपनिषदको रचना गरे| ऋग्वेद बुझ्नका लागि ऐतरेय ब्राह्मण अति आवश्यक मानिन्छ।
२. ऐलूष ऋषि दासीपुत्र हुन्। चरित्रहीन जुआरी थिए। तर, पछि भित्रैदेखि परिवर्तन भए। गुरुको शरणमा बसेर गहीरो अध्ययन गरे। ऋग्वेदका ज्ञाता नै भए। ऋषिहरूले उनलाइ आमन्त्रित गरेर आचार्य पदमा आसीन गराए। (ऐतरेय ब्राह्मण २.१९)
३. यौवनावस्थामा जाबालले धेरै पुरुषसँग यौनसम्बन्ध राखिन्। उनलाइ पुत्र प्राप्ति भएको थियो, जस्को नाम सत्यकाम राखेकि थिइन्। पितृत्वको ठेगान नभएका सत्यकाम जाबालले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे र ‘आचार्य सत्यकाम जाबाल’ भए।
४. राजा दक्षका पुत्र पृषधलाइ उनका आचरण, कर्म र चरित्रकै कारणले शूद्र भन्थे। पछि परिवर्तित भए। तपस्या गरे र भक्तिमा लिन भएर उनले मोक्ष प्राप्त गरे। (विष्णु पुराण ४.१.१४)
५. राजा नेदिष्टका पुत्र नाभाग कर्म आचरणले वैश्य भए। तर उनका पुत्रहरू आचरण र संस्कारमा रहेकाले क्षत्रिय नै रहे। (विष्णु पुराण ४.१.१३)
६. नाभागका पुत्र थिए धृष्ट। धृष्टले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे। तर उनका छोराहरू क्षत्रिय कर्म गर्दै क्षत्रिय वर्णमा रहे। (विष्णु पुराण ४.२.२)
उनका पछिल्ला सन्ततिमा कुनै-कुनैले कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे। (विष्णु पुराण ४.२.२)
७. श्रीमद्भागवत महापुराण अनुसार राजपुत्र अग्निवेश्यले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे।
८. विष्णुपुराण र श्रीमद्भागवतमा रथोतरको प्रसङ्ग छ। उनी पनि कर्म, आचरण, संस्कारबाटै क्षेत्रीयबाट ब्राह्मण भए।
९. क्षत्रियपुत्र हारित पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मण भएका हुन् (विष्णु पुराण ४.३.५)
१०. वायु पुराण, विष्णु पुराण र हरिवंश पुराणमा उल्लेख भए अनुसार शौनक ऋषिका पुत्रहरू कर्म, आचरण र संस्कारभेदले गर्दा कोही ब्राह्मण, कोही क्षत्रिय, कोही वैश्य र कोही शूद्र भए। गृत्समद, गृत्समति र वीतहव्यको पनि यही उदाहरण छ।
११. चाण्डालपुत्र मातङ्ग पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मण भएका हुन्।
१२. ऋषि पुलस्त्यका नाति रावण तथा राजा रघुका पुत्र प्रवृद्ध पनि कर्म, आचरणबाटै राक्षस बन्नपुगे।
१३. त्रिशङ्कु राजा हुन् तर कर्म, आचरणबाटै चाण्डाल बन्नपुगे|
१४. विश्वामित्र स्वयं क्षत्रिय थिए तर ब्राह्मणत्व प्राप्त गरे। उनका छोराहरू भने कर्म, आचरणबाट शुद्र बने।
१५. कबीरजी रामानन्द गुरुकहाँ जानुभयो र भन्नुभयो – “मैले हृदयदेखि नै तपाईंलाइ गुरु मानेको छु; तपाईंले मलाइ शिष्य स्वीकार गरिदिनुहोस्।”
रामानन्द गुरुले भन्नुभयो – “न त जातको ठेगान छ, न त गोत्रकै ठेगान छ; यस्तो जातको ठेगान नभएकोलाइ म शिष्य स्वीकार गर्दिन।”
कबीरजीले भन्नुभयो – “मैले तपाईंलाइ गुरु मानिसकें। तपाईंले शिष्य स्वीकार नगरेपनि मेरो गुरु तपाईं नै हो।”
कालान्तरमा पछि रामानन्द गुरुलाइ बोध भयो – ‘भगवत्संसारमा जातको मतलब छैन।’ यो बोध भएपछि उहाँले कबीरजीलाइ सम्झनुभयो।
हामीले उपरोक्त टिप्पणि लेखेपछि उहाँ (ब्राह्मण @BramhanManu नामको ट्विटरह्याण्डल भएका) ले हामीलाइ झम्टिनुभयो ! उहाँले जङ्गिएर लेख्नुभयो –
“जन्मना जायते शुद्र कहाँ लेखिएको छ, त्यो श्लोक कहाँ छ ?
श्रीमद्भागवत गीता राम्ररी अध्ययन गर्नुहोस्।”
त्यतिमात्र हैन, उहाँले झोक्किंदै ठाडै हप्काउनुभयो र सिआईबी (पुलिस)ले गर्नेभन्दा चर्को केरकार गर्नुभयो। छैन त रोचक ?
योभन्दा ठूलो बिडम्बना के भैरहेको छभने धेरै पण्डितहरूले उल्टै मलाइ नै गालि गरिरहनुभएको छ। “तैंले त्यो टिप्पणि लेख्नुहुँदैनथ्यो; तँ त्यो टिप्पणि लेख्न लायक छैनस्” भनिरहनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया