सन् २०१७ मा विश्वव्यापी आर्थिक वृद्धिदरले गति लिने
वाशिङटन डीसी २९ पुस (अमेरिका) ।
सन् २०१७ मा विश्वव्यापी आर्थिक वृद्धिदरले गति लिने अपेक्षा गरिएको छ । बुधवार सार्वजनिक प्रतिवेदनमा बहुपक्षीय कर्जादाता निकाय विश्व बैङ्कले यस्तो प्रक्षेपण गरेको हो । तेल तथा कमोडिटिजको मूल्यमा आएको सुधारले कमोडिटिज निर्यातकर्ता उदीयमान अर्थतन्त्रमाथिको दबाब कम भएको र ब्राजिल एवम् रूसले भोग्दै आएको कष्टकर मन्दी पनि समाप्त हुन थालेकोतर्फ औंल्याउँदै बैङ्कले यस्तो प्रक्षेपण गरेको हो ।
यस वर्ष विश्वको आर्थिक वृद्धिदर केही सुध्रँदै २ दशमलव ७ प्रतिशतमा पुग्ने ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ शीर्षकको प्रतिवेदनमा बैङ्कले बताएको छ । गतवर्ष विश्व अर्थतन्त्र सन् २००८ को वित्तीय सङ्कटयताकै न्यून दर अर्थात् २ दशमलव ३ प्रतिशतले मात्रै बढेको थियो । सन् २०१६ मा १ दशमलव ६ प्रतिशतले बढेका विकसित अर्थतन्त्रको वृद्धिदर पनि सन् २०१७ मा १ दशमलव ८ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ ।
उता, उदीयमान तथा विकासशील अर्थतन्त्रको वृद्धिदर भने गतवर्षको भन्दा शून्य दशमलव ८ प्रतिशतले बढेर ४ दशमलव २ प्रतिशतमा पुग्ने बैङ्कको अनुमान छ । ‘वर्षौंसम्मको निराशाजनक आर्थिक वृद्धिदरपछि क्षितिजमा सुदृढ आर्थिक वृद्धिको सम्भावना देख्न पाउँदा हामी निकै उत्साहित भएका छौं,’ विश्व बैङ्क ग्रूपका अध्यक्ष जिम योङ किमले एक विज्ञप्तिमा भने । यो गतिको फाइदा लिने अनि पूर्वाधार र मानव संसाधनमा लगानी बढाउने समय अहिले नै भएको उनले बताएका छन् ।
यद्यपि, सो प्रक्षेपणमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत प्रस्तावको प्रभाव भने समायोजन नगरिएको बताइएको छ । गतवर्ष १ दशमलव ६ प्रतिशतले मात्रै बढेको अमेरिकी अर्थतन्त्र यस वर्ष २ दशमलव २ प्रतिशतले बढ्ने बैङ्कले प्रक्षेपण गरेको छ । ट्रम्पले प्रतिबद्धता जनाएअनुरूप वित्तीय प्रोत्साहनका प्याकेज लागू गर्न र पूर्वाधार खर्च बढाउन सके अर्थतन्त्र योभन्दा उच्च दरमा बढ्न सक्ने बताइएको छ ।
यस वर्ष चिनियाँ अर्थतन्त्र सुस्ताउने बैङ्कको प्रक्षेपण छ । गतवर्ष ६ दशमलव ७ प्रतिशतको वृद्धि बेहोरेको चिनियाँ अर्थतन्त्र यस वर्ष सुस्ताएर ६ दशमलव २ प्रतिशतमा समेटिने अनुमान गरिएको छ । यद्यपि, इण्डोनेशिया र थाइल्याण्ड लगायतका दक्षिणपूर्वी एशियाली अर्थतन्त्र भने उच्च दरमा बढ्ने बताइएको छ । त्यस्तैगरी सन् २०१६ मा ७ प्रतिशतले विस्तार भएको भारतीय अर्थतन्त्र सन् २०१७ मा ७ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । एजेन्सीहरू
फेसबुकबाट तपाईको प्रतिक्रिया