सप्तकोसीमा पानीको बहाब वर्षकै उच्च, रातो बत्ति सहित उच्च सतर्कता

इटहरी -८ श्रावण

पूर्वी पहाडी क्षेत्रमा केहीदिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा बाढीको बहाव आज यो वर्षकै उच्च मापन गरिएको छ । आज साँझ ५ बजे कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकन्ड दुई लाख ५० हजार २५२ क्युसेक मापन गरिएको छ ।

कोसी नदीमा बाढीको बहाव आज बिहानदेखि नै निरन्तर बढिरहेकाले अहिले साँझ ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् । शुक्रबार ब्यारेजका २९ ढोका खोलिएको थियो । कोसीमा पानीको बहाव प्रतिसेकन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

२०६५ साल भदौ ५ गते कोसी नदीको पूर्वी तटबन्ध फुट्दा कोसीको बहाव प्रतिसेकेन्ड दुई लाख ६५ हजार क्युसेक रहेको थियो । यसैबीच, कोसीको बाढीले सुनसरीको दक्षिणी भाग कप्तानगन्ज गाविसका वडा नंं ५, ६, ७ र ८ र तनमुना गाविसको वडा नंं २ को मुसहर वस्ती पनि डुबानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाँईले जानकारी दिए ।

यसैबीच, भारतको बिहारसँग सीमा जोडिएको कोसी ब्यारेज क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रजिअ चापागाइँका अनुसार उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उच्च सतर्कता सहित यात्रुको जाँचमा कडाइ गरेको छ ।

भारत विहारको सुपोल जिल्लाका डिस्ट्रिक्ट मेजिस्ट्रेटले सुनसरी र मोरङ जिल्ला प्रशासन कार्यालयलाई उच्च सतर्कता अपनाउन पत्र पठाएपछि सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिए । रासस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया