सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित

काठमाडौं १२ माघ।

प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरे ।

बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्नुहुनेछ भन्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको हो बताए ।

प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिए ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले महिलामाथिको यौन दुव्र्यवहारको विवादपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ । RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया