समयभित्रै निर्वाचन गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री निधि

बर्दिबास १० अशोज
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिमै स्थानीय निकायको निर्क्यौल गरेर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार महोत्तरीको बर्दिबासमा प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आयोजना गरेको ‘सुशासनको सन्दर्भमा सेवा प्रवाह र सुधार’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले सुशासनको आधारभूत जग नै स्थानीय निकाय भएकाले सरकार समयमै निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा लागेको बताए।
अहिले संविधान कार्यान्वयनको पहिलो चरणमा संविधानलाई सर्वस्वीकार्य बनाउन मधेसवादी दलको असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधनको गृहकार्यमा सरकार लागिपरेको उनको भनाइ छ। यसका लागि प्रादेशिक सीमाङ्कन, भाषा, राष्ट्रिय सभाको गठन प्रक्रिया र अङ्गीकृत नागरिकताबारे संविधानमा थप स्पष्ट पार्न मधेसवादी दल र अन्य दलसँग गृहकार्य भइरहेको उपप्रधानमन्त्री निधिले बताए। सुशासनको प्रत्याभूति र सेवा प्रवाहको क्षेत्रमा कर्मचारीतन्त्रभित्र सेवाभाव र अनुशासनको कमी भइरहेको आमगुनासोलाई चिर्न राष्ट्रसेवक कर्मचारीले तदारुकता अपनाउन आवश्यक रहेको निधिको जोड थियो। मधेसमा चुरे संरक्षण, सडक, सिँचाइ, स्वास्थ्य, सीमा क्षेत्रमा हुने डुबान र दैनिक प्रशासनिक कार्यमा सकारात्मक परिवर्तन दिन सकिएमात्र जनताले सुशासनको अनुभूति गर्नसक्ने उनको भनाइ थियो। कार्यक्रममा आयोजकका तर्फबाट उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले विधिको शासन, अर्थतन्त्रमा सुधार र सेवा प्रवाहमा जनताले अनुभूति गर्ने गरी तत्काल सुधारका काम अघि बढाउन आवश्यक रहेको औँल्याए। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिलेको सुरक्षा चुनौती र प्रहरी दायित्वबारे प्रकाश पारेका थिए। जनकपुर उच्च अदालतका निमित्त मुख्य न्यायाधीश मोहम्मद साफिद हुसैनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सप्तरी, सिन्धुली र उदयपुरसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ–आफ्ना जिल्लाका प्रशासनिक समस्या औँल्याएका थिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया