समाजबादी क्रान्तिका नायक लेनिनको त्यो विरासत

     ✍️पारसमणि खतिवडा, ०७७ बैशाख,१०

 “कुनै मुलुकको साँस्कृतिक स्तर कस्तो छ भन्ने कुराको अनुमान लगाउन त्यहाँको पुस्तकालय हेरे पुग्छ ।”

यो भनाइ विश्वमा प्रथम पटक समाजवादी क्रान्तिको नेतृत्व गरी सफलता हासिल गर्ने महान् व्यक्ति ` लेनिनको ´हो ।
लेनिनले  अाफ्नो क्रान्तिपश्चात रुसमा भव्य पुस्तकालय स्थापना गर्ने सपना साँचेका थिए । नभन्दै क्रान्ति सम्पन्न भएपश्चात रुसले पुस्तक र पुस्तकालयसम्बन्धी धेरै काम पनि गर्यो । तर, क्रान्तिकालमा लेनिनले कति पुस्तक पढे, कसरी पढे ? यो कुरा पनि कम्ती रोचक र ज्ञानवर्धक छैन । लेनिन कति पढ्थे भन्ने कुरा ‘रुसमा पुँजीवादको विकास’ भन्ने किताब लेख्नको लागि उनले ५ सय ८३ थान किताब पढेकोबाट थाहा पाउन सकिन्छ । तर, कसरी निकाल्थे उनले त्यत्रो पुस्तक पढ्ने समय ? जबकि उनी त कहिले जेल परे, कहिले निर्वासित भए । हो, उनले त्यहीबेला सबैभन्दा धेरै पुस्तक पढे । जेलमा हुँदा उनका लागि आवश्यक पुस्तक उनकी बहिनी आन्नाले बाहिरबाट किनेर, पुस्तकालयबाट खोजेर लगिदिन्थिन् । निर्वासनमा हुँदा त उनी पुस्तालयमै अधिकांश समय बिताउँथे ।
लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्रक शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम `भ्लादिमिर इल्यिच उल्यानोभ´ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।

लेनिनकी आमा `मारिया अलेक्सान्द्रभ्ना ´डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए ।  मारिया दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।

संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।

सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी नेर्निसेभ्स्कीको ‘के गर्ने ?’ उपन्यासले उनलाई प्रभावित पारेको थियो ।

विधालयको अाफ्नो सवै स्वर्ण पदकसहित जिम्नेसियमको आफ्नो अध्ययन सकेपश्चात् अगस्ट १८८७ मा उनी काजान विश्वविद्यालयको कानुन विभागमा भर्ना भए | तर डिसेम्बर १८८७ मा अठार वर्षीय लेनिन जारशाहीबिरुद्ध क्रान्तिकारी संघर्षमा होमिएका कारण विश्वविद्यालयबाट निष्कासित हुनुका साथै गिरफ्तार पनि भए । उनी काजान गुबेर्नियाको कोकुसकिनो गाउँमा निर्वासनमा पठाइए । बिस्तारै–बिस्तारै लेनिनको गतिविधिमाथि प्रशासनले कडा निगरानी राख्न सुरु गर्यो । निर्वासनकालमा उनी विहान उठेदेखि बेलुका सुत्ने बेलासम्म पढ्थे । उनको निर्वासनकाल एक वषर्को थियो । काजान बसाइको क्रममा उनी रुसी क्रान्तिकारी नि.ए. फेदोसेएफले गठन गरेको समूहको सदस्य बने । त्यो बेला सामाजिक क्रान्तिका लागि जर्मन दार्शनिक तथा क्रान्तिकारी नेता कार्ल मार्क्सले जर्मनीकै अर्का दार्शनिक फ्रेडरिक एङ्गेल्ससँगको सहकार्यमा प्रतिपादन गरेको दर्शन तथा सिद्धान्तहरुबारे चर्चा सुरु भएको समय थियो ।
सन१९०१ वाट लेनिनले अाफ्नो नाम परिवर्तन गरि लेख रचनाहरुमा लेनिन लेख्न शुरु गरे।`ईस्क्रा ´पत्रिकामा काम गर्दा गर्दै साईवेरियाको नदि `लेना´वाट उपनाम राखे अनि लेनिन वने|

सन्१९१७ अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।
लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरुको स्वार्थरक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरु बिनामुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे ।

यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए । केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरुविरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरुले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करिब साढे तीन महिना भूमिगत भएर काम गरे ।
सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रान्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रुपमा व्याख्या गरे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्वपूर्ण विचार प्रकट गरेका थिए । जनता बिस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरुको पुनःनिर्वाचनमा बोल्सेभिकहरुले बहुमत पाए । उनीहरुले पेट्रोग्राड र मास्कोका सोभियतहरुमाथि आफ्नो वियन्त्रण कायम गरे । सोभियतहरुको प्रतिष्ठा बढ्यो र उनीहरु फेरि प्रमुख शक्तिको रुपमा देखा परे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।

लेनिनको पालामा भयको महत्वपूर्ण क्रान्ति अक्टोबर क्रान्तिले समाजवादी आन्दोलनलाई बल प्रयोगको विधिबाट सम्पन्न गर्न सक्ने पाठ सिकायो ।
यसले विदेशी हस्तक्षेपविरुद्ध निर्मम ढंगले प्रतिरोध गर्न सिकायो । सामन्तवादविरुद्ध डटेर लड्न सिकायो । राजनीतिक सत्ता खोसेर लिनुपर्छ र त्यसका लागि सशस्त्र संघर्ष मार्फत बल प्रयोग गर्नुपर्छ भन्ने सिकायो । शान्तिपूर्ण संघर्षलाई अस्वीकार गर्यो ।
शान्तिपूर्ण संघर्ष गर्न खोज्ने कम्युनिस्ट पार्टीहरूलाई बुर्जुवाकरण र क्रान्तिबाट भागेको जस्ता आरोप स्वयं कम्युनिस्ट पार्टीहरूले लगाए ।
यसले आधा विश्वलाई समाजवादी कित्तामा उभ्याउन आधारभूमि तयार गर्यो । उक्त क्रान्तिपश्चात् भ्लादिमिर लेनिनले आठ वर्ष शासन गरे ।
सन् १९२४ जनवरी २१ मा बेलुकी छ बजेर ५० मिनेट जाँदा विश्व सर्वहारा आन्दोलनका महान् नेता र मार्क्सवादका सिर्जनात्मक प्रयोगकर्ता लेनिनको निधन भयो । “दि यूनाइटेड स्टेट्स अफ यूरोप स्मानिसन” (१९१५); साम्राज्यवाद(१९१६)तथा “दि वार प्रोग्राम अफ दि पोलिटिकल रिवाल्यूशन” (१९१६)जस्ता महत्वपूर्ण कृति लेनिनका उपहार हुन्।

  सन् १९२२ मा सोभियत संघको निर्माण भयो । पूर्वी युरोप र एसिया क्षेत्रमा अक्टोबर क्रान्तिको प्रभाव बढी पर्यो । विश्वका धेरै देशमा कम्युनिस्ट पार्टीहरूको स्थापना भए । ती देशमा अक्टोबर क्रान्तिको नक्कल गरिए । रूसको महान अक्टोबर समाजवादी क्रान्ति  सन् १९१७ मा रूसमा भएको क्रान्ति, जसको कारण रूसी रोमानोभ वंशको तीन सय वर्षको राजतन्त्रको अन्त भयो र संसारको इतिहासमा मज़दूर र किसानको पहिलो राज्य-सोवियत संघ ( रूसीमा СССР) को स्थापना भयो।
लेनिनको नेतृत्वमा रुसी बोल्शेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्यो । त्यो क्रान्तिले माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको स्थापना गर्ने प्रयत्न गर्यो । लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्त प्रतिपादन गरे ।
अक्टोबर क्रान्तिलाई आदर्श मान्दै बनेका कम्युनिस्ट पार्टीले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरे । त्यसकारण भौतिक शरीर त्यागेर गएपनि सर्वहाराका नेता लेनिन विश्वमाझ जिवन्त छन, रहिरहनेछन।

फेसबुकबाट तपाईको प्रतिक्रिया