समालोचक प्रा.डा. चुन्दा वज्राचार्य दृष्टिमा भिक्षु सुदर्शनका नाटकहरु

–स्वयम्भू शाक्य

नेपालको मल्लकालीन शासनकालमा नेपालभाषा जनभाषा र राजभाषाको रुपमा विकसीत भई नाटक विद्या अरु विद्या भन्दा धेरै परिपक्व रुपमा विकास भएको देखिन्छ । तर इतिहासका केही कालखण्डमा नेपालभाषाको विकास हुन सकेन । जव प्राजातन्त्रको प्रादुर्भाव भयो तबदेखि नेपालभाषा साहित्यको उन्नति र प्रगति भएतापनि नाटक विद्यामा भने खासै विकास हुन सकेको देखिन्दैन ।
नेपालभाषा साहित्यमा आधुनिक नाटकको थालनी भिक्षु सुदर्शनले गरेको थिए । पाश्चात्य साहित्यकार शेक्सपियर, वनार्ड शा र इब्सेनको साहित्यवाट वढी प्रभावित भएका भिक्षु सुदर्शनले नेपालभाषा नाटक विद्यामा शैक्सपियरको शैली नाटकमा प्रवेश गरेतापनि इब्सेनको शैलीलाई पनि आत्मसाथ गरिएको देखिन्छ । विश्व आधुनिक नाटकीय् विद्यामा नारी स्वतन्त्रता, समस्या र सामाधानका विषयहरुमा पनि केन्द्रित भई विद्रोह र मुक्तिको पहिलो नाटक लेख्ने विश्वका महान साहित्यकार इब्सेनको “पुतली घर” र “भूत” हुन् भने नेपाली आधुनिक नाटकमा गोपाल प्रसाद रिमालको “मसान” नाटकलाई पहिलो नारी स्वतन्त्रताको नाटकको रुपमा लिन सकिन्छ । भिक्षु सुदर्शनको नाटकमा कुसंस्कारको विरोध र नारी स्वतन्त्रको आवाज बुलन्द गरेको देखिन्छ । पुरुष प्रधान भएको देशमा जन्म भएता पनि १२ वर्ष देखि छुट्टै संसारमा बाँचिएका भिक्षु सुदर्शनका नाटकहरुमा नारी स्वतन्त्रता, नारी पुरुषको विषमता, समान अधिकार र व्यवहारका लागि प्रगतिशील विचार राखी आवाज उठाउँदै “सुप्रिया” र “अम्वपाली” नाटक नारी प्रधान नाटकको रुपमा लेख्नु भएको छ । भिक्षु सुदर्शनका नाटकहरुमा विषयवस्तु, ऐतिहासिक घटना र वौद्ध जातक कथामा आधारित छ भने “सुप्रिया” र “प्रतिशोध” नाटक परम्परागत नाटक भएता पनि प्रस्तुतीमा नयाँपन देखिन्छ । नारी र पुरुषको समानता, राज्य–राज्य वीच शान्ति, युद्ध विरोधी आदि जस्ता कुराहरुका पक्षपाती भिक्षु सुदर्शन मानव समाजलाई सुव्यवस्थित किसिमवाट अगाडी वढाउन शान्ति, अहिंसा र मैत्रीभावको सन्देश दिनु नै उहाँको नाटकको मुख्य उद्देश्य हो । परम्परागत नाटकमा आन्तरिक तथा वाह्रय द्धन्द दुई व्यक्ति, दुई शाक्ति, दुई प्रवृत्तिका वीच भएता पनि उहाँको नाटकमा मनोविश्लेषण, नयाँ विचारधाराका सिद्धान्त नाटकमा अन्तसम्म द्धन्द भएको देखिन्छ । पात्र चरित्रलाई दृष्टिगत गर्दा आ–आफ्नो विचारधाराका प्रतिनिधित्व गर्नुका साथैं वातावरण, चरित्र निर्माण, गुण र दोष, वर्गिय प्रतिनिधि, विचारधाराका संवाहक उनको नाटकमा देखा परेकोले इब्सेन शैलीको पात्र चरित्र र सन्देशमूलक रहेको देखिन्छ । पाश्चात्य परम्परागत त्रिकालीक योजनालाई शैक्सपियरले उलंघन गरे जस्तै भिक्षु सुदर्शनले पनि उलंघन गरी नाटकमा हुने घटना, समय र स्थानलाई कुनै परवाह नराखी अगाडि वढेको पाइन्छ । भिक्षु सुदर्शनको नाटकमा ग्रीक परम्परागत मात्र नभई प्राचीन रोमन परम्परागत प्रभाव समेत परेको देखिन्छ । प्राचीन रोमन नाटककार सेनेकाले झै नाटकमा डवलीमै रगत बगाएर दर्शकहरुलाई त्रासको वातावरण दिए झै भिक्षु सुदर्शनको नाटक “विम्विसार”, “आशंका” र “अम्वपाली” मा पनि त्यस्तै प्रकृतिका मनोभावका यथार्थतालाई चित्रण गरेको छ ।
नेपालमा पाश्चात्य परम्परा अन्तर्गतका नाटक लेखन कार्य पछि मात्र भएतापनि नेपालभाषा साहित्यमा नाटकको श्री गणेश भिक्षु सुदर्शनले गरेका थिए । विं.स.२००९ सालमा कन्या मन्दिर माध्यमिक विद्यालयमा भएको नेपालभाषा साहित्य सम्मेलनमा एक जना वत्ताले वुद्ध जन्मेको देशमा बौद्ध भिक्षुहरुले केहि गर्न सकेको छैन भनी आलोचना गरेकोमा भिक्षु सदुर्शनले भगवान वुद्ध जन्मेको देशमा अरु केही नगरे पनि भिक्षु भएर बस्नु नै ठूलो गौरवान्वित कुरो हो भन्दै उहाँले नेपालभाषा साहित्य क्षेत्रमा २० वर्षमा १२ वटा नाटक लेख्ने वचन दिनु भएको थियो । जुन वचन पुरा गरे तपानि हाल सम्म ४ वटा नाटकहरु अप्रकाशितका रुपमा रहेको छन् । भिक्षु सुदर्शनको पहिलो नाटक ने.स.१०७५ मा प्रकाशित “अम्वपाली” नाटक हो भने सवैभन्दा पछिल्लो नाटक ने.स.१११७ मा प्रकाशित भएको नाटक “पराचार” हो । अम्वपाली (ने.स.१०७५), राष्ट्रपाल (ने.स.१०७७), जुजु जय प्रकाश (ने.स.१०८२), विम्विसार (ने.स.१०८२) आशंका (ने.स.१०९१), सुप्रिया (ने.स.११०१), प्रतिशोध (ने.स.११०८) र पटाचार (ने.स.१११७) नाटकहरु प्रकाशित भएका छन् भने अप्रकाशित नाटकहरुमा “जि वयालां लाछि मदुनि” “विश्वासघाट”, “विजय” र “सिद्धार्थ” हुन् ।
साहित्यकारले साहित्य सृजना गर्दा समाजमा आफूले देखेका भोगेका कुराहरुलाई चिन्तन मनन गरी कलात्मकढंगले सृजना गरेको कृर्तिमा आफ्नो भावना, विचार, दर्शन र समाज आदिको छायाँ पर्नु स्वभाविक हो । वि.स.१९९५ असार १७ गते ( १ जुलाई १९३८ ) मा सजन्म भएका लुम्विनीराज शाक्य वि.स.१९९६ पुस २३ ( ७ जनवरी १९४० ) गतेका दिन कुशीनगरमा श्रामशेरको दीक्षा लिई पछि भिक्षु हुनु भएका वौद्ध विद्धान नाटककार भिक्षु सुदर्शनको नाटकमा वौद्ध ग्रन्थ, वौद्ध जातक, ऐतिहासिक घटना, बुद्धकालीन व्यक्तित्व, लोक कल्याण र सामाजिक भावनात्मकमा आधारित नाटकहरु लेख्नु भएको पाइन्छ । उहाँको १२ वटा नाटकहरु मध्ये ८ वटा नाटकहरु प्रतिशोध, विश्वासधाट, पटाचार, अम्वपाली, राष्ट्रपाल, विम्विसार, सिद्धार्थ बौद्ध सहित्यमा आधारित छन् ।
दीर्घाबुवस्थु जातक कथामा आधारित नाटक “प्रतिशोध”, कुण्डलकेसि जातक कथामा आधारित अनुस्तुप छन्दमा लेखिएको पद्य नाटक “विश्वास घाट”, वौद्ध जातकको अन्य नाटक “पटाचार”, भगवान वुद्धले कौशाम्वीया भिक्षुहरु झगडा भैरहेको ठाउँमा उपदेश दिइरहेको विषयवस्तुमा आधारित नाटक “प्रतिशोेध”, वुद्धको समयमा गणिका भैरहेको र पछि भिक्षु भई अर्हत प्राप्त गर्ने स्वास्नी मान्छे “अम्वपाली”, वुद्धको साथी “विम्विसार”, वुद्धको शरणमा गई भिक्षु भई अर्हत प्राप्त गर्ने कुरु देशान्तरका महाजनका एक्लो छोरा “राष्ट्रपाल”, भगवान वुद्धको जीवनमा आधारित नाटक “सिद्धार्थ” हुन् ।
“जुजु जय प्रकाश” र “आशंक” नाटकहरु ऐतिहासिक नाटकहरु हुन् । “जुजु जय प्रकाश” नाटक कान्तिपुरका मल्लकालीन राजा जय प्रकाश मल्लको व्यक्तित्व, नेपाल मण्डलको राजनीति आदि विषयमा केन्द्रित भई नेपाल एकीकरण हुँदा मल्ल र शाह वंंशका वीच के कस्तो भयो र शाह वंश कसरी आयो भनी घटनाका अधारमा लेखिएको नाटक हो भने “आशंका” नाटक शाहवंशका एक सुरवीर विद्धान र राष्ट्ररक्षाको भावना भएका कर्तव्य परायण व्यक्ति रणदुर्लभको जीवनको अन्त्य दरवारीया दाउपेच, द्धेष भएको घटनामा आधारित नाटक हो भनी समालोचना प्रा.डा. चुडा वज्राचार्यले आफ्नो “भिक्षु सुदर्शनया नाटक विद्या” अनुसन्धानत्मक पुस्तकमा उल्लेख गर्नु भएको पाइन्छ ।

श्री ५ राजेन्द्रवीर विक्रम शाहको राज्यकालमा अज्ञात व्यक्तिले लेखिएको “जि वया ला लाछि मदुनि” गीत उक्तवेला अति नै लोकप्रिय हुनुका साथै गीतमा विषयवस्तु, भाव, सन्देश, लगायत काव्यस्तरीय गुण समेत रहेकोले भिक्षु सुदर्शन अति प्रभावित भई सोही शिषकमा “जि वया ला लाछि मदुनि” नाटक लेखिएको देखिन्छ । पूँजिवाद र समाजवादको सिद्धान्तलाई आत्मसाथ गदैं दुई जना राजाहरुको प्रतिनिधित्व गरिरहेको “विजय” नाटक भिक्षु सुदर्शनको भावनात्मक काल्पनिक अप्रकाशित नाटक हो । पूँजिवाद अर्थतन्त्रभित्र यदि धनी र गरिवको खाण्डल ठूलो भयो भने त्यस स्थितिमा पूजिँवादको सत्ता समाजवादको जन्म हुन्छ भन्ने विचारमा आधारित वुद्धकालीन समाजका कल्पनिक नाटक हो “सुप्रिया” ।
पूर्वीय सिद्धान्त अनुसार नाटकको नायक र नायिकाको अन्त्यमा मिलन भयो भने संयोगान्त र विछोड भयो भने वियोगान्तको रुपमा लिइन्छ । नाटककार भिक्षु सुदशनका नाटकहरुलाई पूर्वीय सिद्धान्तको कसीमा घोट्ने हो भने “अम्वपाली”, “जुज जय प्रकाश”, “आशंका”, “राष्ट्रपाल”, र “विम्विसार”, नाटकहरु वियोगान्त नाटक हुन् । अम्वपाली नाटकमा रत्नपाललाई नायकको रुपमा अगाडी सारेको देखिन्छ । आफ्नो फूफूको वचनले गर्दा प्रेमीलाई समेत आफ्नो साथी वन्धुमतिलाई सुम्पेर अम्वपाली नाटकवाट वियोग भएको देखिन्छ । नाटकको मूल कथालाई अगाडी लग्न रत्नपालको भूमिका त्यति देखिदैन । तैपनि अम्वपाली र रत्नपालको मायाका भावना स्थिर देखिन्छ । , “जुजु जय प्रकाश” नाटकमा मूल पात्र राजा जय प्रकाश भएकोले रानी दयावत्ती र राजा जयप्रकाशको अन्त्यमा मात्र वियोग भएको होइन । दुई विचार धारा र दुई भावनाका राजा जयप्रकाश र रानी दयावत्ती पहिले नै वियोग भएको देखिन्छ । नायकले नै नजरबन्द गरी त्यही मृत्यु भएकी रानी दयावत्ती र राजा जय प्रकाशको वियोग नाटक हो । आशंका नाटकमा नायक रणदुल्लभ र नायिका सुलोचनाको वियोग नायकले नायिका प्रति हेर्ने भावनामा आशंका भएको देखिन्छ । आफ्नो माया निस्वार्थ छ भन्ने प्रमाण सुलोचनाले रणदुल्लर्भलाई प्राणान्तकालमा आशंका मेटाउन सके पनि मृत्युको मुखमा पुगेका रण दुल्लर्भलाई मृत्युको मुखवाट निकालेर ल्याउन नसकेको मात्र होइन स्वयम् आफैं पनि आत्महत्या गरी मृत्युवरण प्राप्त गरे । विवाहित भएर पनि गृहस्थी जीवन त्यागी भिक्षुत्व ग्रहण गर्नु नै “राष्ट्रपाल” नाटकको वियोगान्त नाटक हो । अजातशत्रुको बुबा विम्विसार राजा भए पनि राजा हुने इच्छाको कारणले विम्विसार र रानीको वियोगान्त भएको देखिन्छ । विम्विसारले जेलको सजाय भोग्नु परेतापनि दरवारमैं बसिरहेको हो । पछि जेलमैं विम्विसारको मृत्यु भएको देखाई दिएकोले नाटक वियोगान्त भएको हो ।
“प्रतिशोध” नाटकमा अन्तिममा राजकुमार र सुनन्दा राजकुमारीको मिलन देखाएर संयोगान्त देखाई दिएका देखिन्छ । फल प्राप्तको आधारमा “सुप्रिया” नाटकमा वर्गीय समानता देखाई संयोगान्त नाटकमा प्रस्तुत गरिदिएको छ भने “राष्ट्रपाल” नाटकमा पनि राष्ट्रपाल भिक्षु हुने उदेश्य पुरा भएको देखिन्छ । भनी समालोचक प्रा.डा. चुन्दा वज्राचार्य नाटककार भिक्षी सुदर्शनको नाटकको भाव र शैलीप्रति नतमस्तक भएकी छिन् ।
पश्चात नाटकको सिद्धान्त अनुसार कामदी नाटकमा सामान्यतया पात्रहरुको चित्रणका साथसाथै उनीहरुको कथामा मनोरञ्जन दिने नाटक भनी लिने गरिन्छ । तसर्थ भिक्षु सुदर्शनका नाटकहरुमध्ये “अम्वपाली” नाटकमा मुख्य नायिका पहिले निम्न वर्गको पात्र भएतापनि पछि नगर शोभिनीको चरित्र चित्रणको रुपमा वैशाली नगर शोभिनीलाई राजपरिवारले अलग सम्मान दिएकोले पश्चात्य सिद्धान्तनुसार कामदी भए पनि पछि त्यस्तो चरित्र चित्रण भएको देखिदैन ।
भिक्षु सुदर्शनले सवैभन्दा पहिला प्रकाशित गरेको नाटक हो वुद्धकालीन समयको एउटा महिलाको नाममा नामाकरण गरिएको नाटक हो “अम्वपाली” । साहित्यकारहरुले सौन्दर्यको प्रतीकको रुपमा लिइने अम्वपाली धेरै वौद्ध ग्रन्थहरुमा उल्लेख भएको एउटा गणिका हो । भिक्षु सुदर्शनले अम्वपालीलाई कसको छोरी भनी कुनै उल्लेख गरिएको छैन । गणिकाको रुपमा वैशालीमा बस्ने अम्वपालीलाई एउटा सुचरित्रको आदर्श महिलाको रुपमा एक नगर शोमिनीको रुपमा देखाईएको छ । अम्वपाली एक रुपमती सौन्दर्य प्रतिमूर्ति भएको कारणले भगवान वुद्धले आफ्ना शिष्य भिक्षुहरुलाई आ–आफ्नो चित्त स्थीर गर्न “सति पठ्ठान” को उपदेश दिईएकोले कवि र साहित्यकारहरुले पनि अम्वपालीलाई सौन्दर्यको आँखाले मात्र हेरेको होइन भन्न सकिन्छ । अम्वपालीको रुप सौन्दर्यप्रति आकर्षित भई मगघका राजा विम्विसारसंग सम्वन्ध भई विमल कोण्डज बालकको जन्म भई पछि विम्विसारको राजदरवारमा ल्याई नियमपूर्वक राजकुमार गरेको देखिन्छ । “अम्वपाली” नाटक अनुसार वैशालीको नगर शोभिनी अम्वपालीको सौन्दर्य देखि प्रभावित भई उसलाई रानी वनाउने इच्छा गर्ने व्यक्ति अजात शत्रु पनि हो । तर इतिहास अनुसार अजात शत्रुको राजा हुने चाहना अर्को कारण वैशालीको वैभब पनि हो । अम्वपालीको मात्र आक्रषर्ण होइन् । यहि कारणले वर्षाकारलाई अजात शत्रु भगवान वुद्धको शरणमा पढाई बज्जीगणहरुलाई विजय गर्ने उपाय सुन्नलाई पढाइएको हो । भगवान वुद्धको उपदेश अनुसार जहिलेसम्म वज्जीगणहरुले ७ वटा अपरिहाणीय धर्मको पालना गर्छ त्यसवेलासम्म कसैले वज्जीगणहरुलाई जित्न सक्दैनन् भनीएको छ । तसर्थ यी ७ वटा अपरिहाणीय धर्मका मूल वुँदाहरुमा सन्निपात धेरै हुनु , मेल भई बस्न सक्नु, प्रशस्तलाई समच्छेदन नगर्ने, आफू भन्दा ठूला वडाहरुलाई सत्कार गर्नु , महिलाको इच्छा विरोधी केही नगर्ने, धार्मिक सहिष्णुता, कला, संस्कृतिको सम्मान र रक्षा गर्ने र अर्हतहरुलाई धार्मिक रुपले आरक्षा, आवरण गोप्यता देखि सवधान जसले गर्दा भविष्यमा आउने अर्हतहरु पनि राज्यमा आउन र राज्यमा भैरहेका अर्हतहरु पनि सुखपूर्वक विहार गर्न सकोस् भनिएको छ । बैशालीहरुलाई यही ७ धर्म विगार्न वर्षाकार देश निकाला गरे जस्तो गरी वैशालीमा बस्न गएको थियो । कुटनीतिज्ञ मगघले निकाला गरी पढाइएकोले वैशालहरुले विश्वास गरेको कारण उनी सफल भएको हो । वैशालीमा गए पछि गणहरुलाई फाटो ल्याउने काम सफल भयो । नाटक अनुसार मगघ र वैशालीवीच युद्ध भयो तर वौद्धग्रन्थ अनुसार मगध र वैशालीवीच युद्ध भएको देखिदैन । अजात शत्रुको इच्छानुसार विम्विसारलाई हत्या गरेकोले त्यसको सुर्ताले कौशलादेवीको पनि मृत्यु भएकोले अजात शत्रुलाई नदिइकन फिर्ता लिएको क्षेत्र लिनका लागी मात्र वारम्वार झगडा भएको देखिन्छ । विम्विसारको मृत्युको शोकले अम्वपालीको छोरा विमल कोण्डन्ज समेत विरक्त भई भिक्षु बन्नेपछि छोरोको प्रवचन सुनी आमा अम्वपाली पनि भिक्षुनी हुन प्रब्रजित भई आम्रवनमा गई भगवान बुद्धको शारणमा गएको हो । बौद्ध ग्रन्थ अनुसार विम्विसारको साथी चण्डप्पन्जोतले आफ्नो साथीको हत्याको प्रतिशोध अज्ञात शत्रुलाई लिन युद्धको तयारी गरेको हो तर युद्ध चाहि भएन् । अजात शत्रु राजा भैरहेको बेला आफ्नैं छोरा उदयले हत्या गरी दिएको थियो । तर नाटकमा अज्ञात शत्रु भिक्षु भएर गरेको देखाएको देखिन्छ । वास्तवमा अजात शत्रु कहिले पनि भिक्षु भएन ।

आफ्नो पितालाई मारेको पश्चातापले भगवानको उपासकसम्म भएको हो भनी समालोचक तथा संस्कृतिविद् प्रा.डा.चुन्दा वज्राचार्यले आफ्नो धारण व्यक्त गदै नाटककार भिक्षु सदर्शनलाई ।“अम्वपाली” नामक पुरानो हिन्दी फिल्मको पनि प्रभाव परेको र भारतको इतिहासका विरागिनी “झांसी कि रानी” को जीवन शैलीसंग पनि तुलना गरेको देखिन्छ ।
इतिहासकार र नाटककारहरुले यथार्थ घटनालाई आ–आफ्नो तरिकावाट हेर्ने भएकोले दृष्टिकोण हिसावले फरक फरक हुनु स्वभाविकैं हो । साहित्यकारहरुले जति स्वतन्त्र भएर लेख्न सकिन्छ त्यति इतिहासकारहरुले लेख्न सक्दैनन । भिक्षु सुदर्शनले “जुजु जयप्रकाश” नाटकमा पृथ्वीनारायण शाहकको जीवनमा भएका युद्धको वेलिविस्तार गरी केहि घृणित कार्यहरु पनि देखाएको पाइन्छ । उनको विजयमा कुनै ठाउँमा विजय उल्लास भएको देखिन्छ भने कुनै ठाउँमा निर्दयीता देखाइएको छ । राजा जयप्रकाश मल्ल दूरदृष्टि भएको राजा हो । तर उनी स्वाभिमानी, विशेष गरी दरवारमा जन्म लिन नसकेको कारणवाट उनको विनाशको वाटो बन्यो । त्यसैले आफ्नै भाइहरु पनि शत्रु वने र भाइहरुसंग मिल्ने भारदारहरु पनि शत्रु भए ।
विचार नमिल्ने रानी भएकीले आफ्नो राज्यपनि छोड्नु प¥र्यो । हुन त ललितपुरका ६ प्रधानहरुले पृथ्वी नारायण शाहलाई ललितपुर कब्जा गर्न चिठ्ठी लेखी पठाए पछि मात्र पृथ्वीनारायण शाहले हमला गरी कब्जामा लिएका थिए । पृथ्वीनारायण शाहले ६ प्रधानहरुलाई पदवाट च्यूत गरी सजाय स्वरुप चारपाटे मोडी माग्न पढाएको थियो । पछि पृथ्वीनारायण शाहले माफी दिई साविकको पद दिएकोले ६ प्रधानहरुको पनि प्रतिशोधको भावना आउनु स्वभाविक हो । प्रधानहरु चतुर राजनीतिज्ञ भएकोले उनीहरुलाई सल्लाह गर्नका निम्ति कान्तिपुरको वागमतीमा वोलाई बालुवाभित्र राखिएको खुकुरीले ५ प्रधानलाई मारिदिएको र एक जना प्रधान भक्तपुरमा भागेकोले ज्यान वचेको देखिन्छ । यो गर्नुको मुख्य कारण राजकाजमा ६ प्रधानहरुले फेरि टाउको उठाउन नपाओस् भन्ने उदेश्यले गरेको देखिन्छ ।
राज्य भएमा मात्र जात, धर्म, संस्कृति वाँकी रहन्छ भन्ने राजा जयप्रकाशको मुख्य धारणा रहेको थियो । त्यसैले देशको रक्षा गर्नका निम्ति पृथ्वीनारायण शाहले हमला गर्दा देवताको ढुकुटीको सम्पति समेत खर्च गरेको उनी माथि आरोप लागेको देखिन्छ । पृथ्वीनारायण शाहको चालवाजी गर्दा कान्तिपुर उनको कब्जामा परेकोले यो जुनीमा नसके पनि पछिको जूनीमा भए पनि बदला लिने उदेश्यले फेरी जन्म लिई देशको रक्षा गर्नको निम्ति मृत्यु हुन लागेको राजा जयप्रकाशको आफ्नो अन्तिम इच्छा छाता, लौरो र जुता दिनु भनी माग गरेकोले पृथ्वीनारायण शाह डराएको देखिन्छ भनी समालोचक प्रा.डा.चुन्दा वज्राचार्यले तल्कालीन देश, काल, परिस्थिति र भावनात्मक सम्वन्धलाई पनि सुक्ष्म रुपमा समालोचना गर्नु भएको छ ।
इतिहासकारको भनाई अनुसार पृथ्वीनारायण शाहले रणजीत मल्लका छोरा वीर नरसिहं मल्लसंग मीत लगाएकोले पृथ्वीनारायण शाहको मीत बा रणजीत मल्ल हुन् भनिएको देखिन्छ । तर गोर्खा वंशावली अनुसार रणजीत मल्लसंग नरभूपाल शाहले मीत लगाएकोले रणजीत मल्ल पृथ्वीनारायण शाहको मीत बा हुन् गएको हो भनी इतिहासकार तथा समालोचक प्रा.डा.चुन्दा वज्राचार्यले प्रस्तुत प्रस्तुकमा आफ्नो धारणा व्यक्त गर्नु भएकी छिन् ।
भिक्षु सुदर्शनको अर्को ऐतिहासिक नाटक हो “आशंका” । गोरखाका राजा पृथ्वीपतिका राजकुमार रणदुर्लभ, रणशर्दुल, रणदुल्लभ र रणदुल्लको नाममा लेखिएको “आशंका” नाटकमा नाटककारले रणदुल्ल शाहको नाममा परिचित गरिएको छ । रणदुल्लभको जीवनमा भएको घटनालाई नाटककार बालकृष्ण समले “रणदुल्लभ” दुखान्त नाटक लेखिएको थियो भने भिक्षु सुदर्शनले “आशंका” नाटकलाई दुःखान्त नाटक लेखिएको हो । नाटककार बालकृष्ण समले ऐतिहासिक घटनालाई मुख्य घटनामा केन्द्रित भई लेखिएको देखिन्छ भने भिक्षु सुदर्शनले यथार्थ ऐतिहासिक घटनालाई पनि कल्पनिकतामा सौन्दर्यवादलाई महत्व दिई दुःखान्त नाटक लेख्नु भएको छ । गोर्खा वंशावली अनुसार पृथ्वीपतिको ६ जना रानीहरुवाट २ जना छोरी र १० जना छोराहरु जन्म भएकोमा १० जना छोराहरुमध्ये रणदुल्लभ पृथ्वीपतिको महिला छोरा हुन् भनी इतिहासकार केशर प्रसाद उपाध्यायले, कान्छा छोरा भनी इतिहासकार दिनेशराज पन्तले र साहिला छोरा को रुपमा भिक्षु सुदर्शनले उल्लेख गरेको देखिन्छ । राजभक्ति, राष्ट्रभक्ति र पितृभक्ति रणदुल्लभको जीवन शैली नाटकमा लमजुङ्ग र गोरखावीच युद्ध भई लमजुङ्गका केही राज्य लकाङ्क, भिकोर्ट, धुँवाकोट, धोराली आदि गोरखाले जितेकोले पछि फेरी लमजुङ्गले युद्ध गरी जितेका थिए । पछि गोरखाले युद्ध गरी जित्न रणदुल्लभले योजना बनाई आफूलाई राज्यवाट निकाला गरे जस्तो गरी सरदार गौरेश्वर पन्त र वलि कडरियासंग लिगलिगे पुगे र लमजुङ्गको राजकुमार कहाँ गई आफूलाई देशवाट निकाला गरी पढाएको भनी विश्वास दिलाई लमजुङ्गको सीमामा रेखदेख गर्न लगाएका थिए ।

पछि रणदुल्लर्भ र लमजुङ्गका राज कुमारवीच मित्रता बढ्यो र रण दुल्लर्भको राजकुमारी सुलोचनासंग प्रेम भएको भनी नाटककारले कल्पनिक घटना उल्लेख गरिएको देखिन्छ । पछि रणदुल्लभ गोरखासंग लडाई गर्न गएता पनि आफ्नो मनले आफ्नै दाजुभाइहरुसंग युद्ध गर्नु उचित नभएकोले आफ्नो बुवा र आफ्नो राज्यको मायाको कारणले रणदुल्लभले लमजुङ्गलाई विश्वासघात गरी गोरखाले जितेको थियो । पछि रणदुल्लभ आफू आत्मग्लानी भई आत्महत्या गरेको देखिन्छ भनी भिक्षी सुदर्शनका नाटकहरुको सन्दर्भमा समालोचक प्रां.डा.चुन्दा वज्राचार्य अति प्रभावित हुनुका साथै उहाँको कृतिहरुप्रति सतिक रुपमा समालोचना गरिएको देखिन्छ ।
समालोचक तथा मल्लकालीन धरःपौका प्रथम संवाहक प्रा.डा चुन्दा वज्राचार्यको आँखामा भिक्षु सुदर्शन त्यस्तो नाटककार हुन् जसले वौद्ध इतिहासलाई विषयवस्तु वनाएर नाटक लेख्ने एक मात्र नाटककार हुन् । उहाँसंग नाटककारमा हुनु पर्ने आँखा छ । तसर्थ सत्यलाई केन्द्रविन्दूमा राखेर नाटक लेख्ने नाटककार भिक्षु सुदर्शनको नाटकमा एउटा मानव जीवनलाई चाहिने सम्पूर्ण यथार्थतादेखि भावुकतासम्मको परिकल्पना गरेको देखिन्छ । आफ्नो वचनप्रति प्रतिवद्धता रहेका भिक्षु सुदर्शनले २० वर्षमा १२ वटा नाटकहरु लेखे पनि हालसम्म पनि ४ वटा नाटकहरु प्रकाशित गर्न नसक्नु दुःखदायी कुरो मात्र होइन बौद्धिक क्षेत्रकै अपुरणीय क्षतिको रुपमा लिन सकिन्छ भनी वौद्धमार्गी शिक्षाविद् प्रा.डा.चन्दा वज्राचार्यको ठहर छ ।
समाजकोे मूल्य र मान्यतालाई मध्यनजर राखी आदर्शताको अभिव्यक्ति दिने भिक्षु सुदर्शनको नाटकमा प्राचीन रोमका नाटककार सेनेकाले जस्तै घटनाका साथ साथै रगत वगेको देखाउँने र शेक्सपियरले जस्तैं इतिहासका मुख्य पात्रको चरित्रलाई नाटकमा पनि चित्रण गर्ने र समस्याग्रत मानवको समस्यालाई मुक्त गरी चित्रण गर्ने र शक्तिशली मात्र होइन स्वतन्त्र वनाउने जस्ता इब्सेनका शैली पनि आत्मसाथ गरेको देखिन्छ । भिक्षु सुदर्शनको नाटकमा बुद्ध धर्मलाई मूल मन्त्र मानी मानव जीवनमा शान्तिमय् हुनु पर्दछ भन्ने नै नाटकको अभिव्यक्ति हो । समानता, त्याग, रक्षा, आदर्श, दयामाया, र मैत्रीभाव आदिले नै शान्ति र सुखमय् वनाउँन्छ । त्यसैले भिक्षु सुदर्शनको नाटक कसैसंग तुलना गर्न नसकिने छुट्टै शैलीको विशिष्टकृत एक अगुवा नाटक हो ।
नेपालमा सवैभन्दा पहिला पाश्चात्य शैकसपियरको शैली प्रयोग गरी नाटक लेख्ने बालकृष्ण सम हुन् । उहाँले वि.स.१९७७ मा “भिलिन्दा” दुःखान्त पूर्णाङ्की नाटक लेखी श्री गणेश गरेको देखिन्छ भने नेपाल भाषा नाटक विधामा भिक्षु सुदर्शनले पाश्चात्य शैकसपियरको शैली प्रयोग गरी सर्वप्रथम वि.स. २०११ (१०७५) मा “अम्वपाली” नाटक लेखिएको देखिन्छ । नाटककार बालकृष्ण समले “रण दुल्लभ” नाटक वि.स.२०१५ सालमा लेखिएको भएतापनि वि.स. २०२० सालमा मात्र प्रकाशित भएको देखिन्छ । बालकृष्ण सम भन्दा ३३ वर्ष पछि नेपालभाषा साहित्यमा देखा परेका भिक्षु सुदर्शनले १२ वटा नाटक वि.स.२०११ सालभित्रै लेखिसकेको देखिन्छ । तर प्रकाशनको हिसावले “आशंका” नाटक वि.स. २०२७ (ने.स.१०९१) मा मात्र भएको हो । नाटक लेख्न कार्यको हिसावको बालकृष्ण समले वि.स.२०१५ सालमा लेखिएको “रणदुरल्लभ” नाटक भन्दा भिक्षु सुदर्शनले वि.स.२०११ साल भन्दा पहिला “आशंका” नाटक लेखिसकेको देखिन्छ । तसर्थ समयको आधारमा भिन्नता भएता पनि भिक्षु सुदर्शनको भाव, विचार, चिन्तन र नाटककार बालकृष्ण समको ऐतिहासिक चिन्तन एउटैं देखिन्छ भनी समालोचक तथा मल्लकालीन धरःपौका प्रथम संवाहक प्रा.डा चुन्दा वज्राचार्यले नाटककार भिक्षु सुदर्शनका नाटकहरुका सन्दर्भमा सुष्म समीक्षा गरी आफ्नो धर्म निभाएकी छिन् ।

प्रकासित मिति २०८०-१२-२२

फेसबुकबाट तपाईको प्रतिक्रिया