सयौँ इनार एकैचोटी सुक्दा खानेपानीको हाहाकार
काठमाडौँ २५ पौष
गौशाला-महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार छ । विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीवास, खयमारा, बिजलपुरा, निगौल, गौशाला नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले बताएका छन् । ढुङ्गा र चट्टानयुक्त भौगोलिक स्थितिका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेको र विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार पनि सुकिसकेका छन् भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको बेलगाछीका काशी महतोले बताए। सयौँ इनार एकैचोटी सुक्दा त्यस क्षेत्रमा खानेपानीको समस्या विकराल भएको र बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निकै समय खर्चिनु परेको लक्ष्मीनियाँका शङ्कर महतोले बताए।
जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाविसमा पानीको हाहाकार भएपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एक सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनुपरेको गौशालाका हजारी साहले बताए। खयरमाराका देवेन्द्र यादवका अनुसार पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने सातामा दुई/तीनपटक मात्रै गर्ने गरेका छन् । ती गाविसमा विभिन्न सामाजिक सङ्घसंस्था र गाविसकै खर्चमै पनि धेरै पहिले जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोरिङ पुरानो भएर सञ्चालन नहुँदा स्थानीयवासी पानी जोहोका लागि छिमेकी जिल्लाको धनुषा बजार र सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदी नाला र इनारमा जानुपरेको पशुपति नगरका वीरेन्द्र महतोले बताए। हिउँदकै बेला त्यस क्षेत्रका दर्जनौँ गाविसमा पानीको अभाव भएपछि चिन्तित भएका स्थानीयवासीले सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग गरेका छन् । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया