सय वर्ष पुगे सत्यमोहन, उत्साह अझै तन्नेरी!
काठमाडौँ ३० बैशाख
ठमठमी हिँड्दै कुरा गरिरहेका उनलाई देख्दा सय वर्षमा टेकेजस्तो लाग्दैन। उनको बोलीमा तन्नेरी ओज छ। फोनमा मज्जैले गफिन सक्छन्।यो खबर आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेखेका छन्।
पाटन मंगलबजार आसपासमा हुने कार्यक्रममा लौरीबिनै हिँडेर पुग्छन्। उनीसँग बसेर भलाकुसारी गर्दा पाँच बीस उमेर पुगेको महसुस हुँदैन। उनी हुन्– संस्कृतिविद् एवं शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी।
जन्ममितिअनुसार सोमबार उनी १०० वर्षमा टेक्छन्।
देशकै परिचय बोकेका यस्ता व्यक्तिको उमेरले शताब्दी चुम्नु गौरवको विषय हो। उनको दीर्घजीवन सिंगो मुलुकका लागि जिउँदो इतिहास बनेको छ। उमेरले सय टेके पनि उनको उत्साह तन्नेरी छ।
कार्यक्रममा पुगेर जोसिलो मन्तव्य दिन्छन्। आफ्ना कुरा खुलस्त राख्छन्। दशकौं पुराना संस्कृति र कलाबारे नयाँ पुस्तालाई जानकारी गराउँछन्।
उनको जन्म १९७७ वैशाख ३० गते पाटन मंगलबजारमा भएको हो। जोशीको जन्मोत्सव मनाउन र सम्मानका लागि ललितपुर महानगरपालिकाले सोमबार महानगरभित्रका कार्यालयमा सार्वजनिक बिदा दिएको छ।
गत वर्ष पनि महानगरपालिकाले विविध कार्यक्रम गरी उनको जन्मोत्सव मनाएको थियो। यसपटक उनको सम्मान र कदरका लागि महानगरले विभिन्न कार्यक्रम बनाएको छ।
जन्मदिनको सँघारमा आइतबार निवासमा पुगेर कुराकानी गरिरहँदा उनी घरी बाल्यकालतर्फ फर्कन्थे त घरी तन्नेरी उमेरमा।
‘मलाई त भगवान्ले अदृश्य शक्ति र वरदान दिएका छन्। म त्यति धेरै आशावादी मान्छे त होइन तर काम गरेपछि चाहना र इच्छा धेरै बढ्दा रहेछन्। मैले पनि काम गरेको थिएँ,’ पुरानौ शैलीमा बनेको होचो घरको अगाडि राखिएको काठे कुर्सीमा बस्दै उनले भने, ‘अहिले म धेरै खुसी छु किनभने मभित्र भएको प्रतिभा र काम राज्यले चिनिदिएको छ। मेरो काम देशको इतिहास बनेको छ। मेरा लागि योभन्दा खुसीको कुरा अर्को हुन सक्दैन।’
कुराकानीका क्रममा उनले सयौं वर्ष पुरानो वामनजात्राको कथालाई जोडे। त्यो १५÷१६ सय वर्षअघिको जात्रा थियो। त्यसबेला हाल चलिरहेको रातो मच्छिन्द्रनाथ जात्राभन्दा पनि चर्चित मानिन्थ्यो वामनजात्रा। ‘त्यतिखेर वामनजात्रा निकै चर्चित रहेछ, अहिले त्यस्तो चर्चित जात्रा पात्रोमा मात्र सीमित रहेको देख्दा दुःख लाग्छ। त्यो जात्राबारे भन्न सक्ने धेरै मानिस छैनन्। मैले पनि अध्ययन गरेपछि वामनजात्राको महत्व र चर्चा बुझेको हुँ,’ उनले सुनाए।
सय वर्षमा पाइला टेकेपछिको आशा र संकल्प सोध्दा उनी त्यतिधेरै बोल्न चाहेनन्। विगतमा गरेका काम र अध्ययनलाई नै स्मरण गर्दै लिपिबद्ध गर्दै जाने उनको सोच छ। ‘मेरो अबको आशा र संकल्प खासै छैन तर हातखुट्टाले साथ दिएसम्म म केही न केही काम गर्छु। चाहे त्यो कोठाभित्र बसेरै किताब अध्ययन गर्ने काम किन नहोस्।’
उनलाई गत वर्ष ललितपुर महानगरपालिकाले गाडी र चालक सुविधा पनि दिएको थियो। महानगरपालिकाले उनको सम्मानमा सोमबार विविध कार्यक्रम गर्दैछ। महानगरपालिकाको सम्मानप्रतिको धारणा बुझ्दा उनले त्यसलाई आफ्नो कर्मसँगै जोड्दै भने, ‘सम्मान मलाई होइन, भाषा, साहित्य र संस्कृतिलाई गरेको हो, मेरो प्रतिभा र कर्मलाई बुझेकोमा ललितपुर महानगरपालिकाप्रति निकै खुसी छु।’
सिर्जना र शक्तिले साथ दिइरहेकोमा उनी आफूलाई भाग्यमानी ठान्छन्। संस्कृति संरक्षण, खोजी र समाजलाई बदल्ने प्रयासमा तल्लीन उनी आफूले गरेका काम समाजकै लागि भएको बताउँछन्। ‘मृत्युको क्युमा बसेको छु,’ ठट्यौली शैलीमा उनले भने,’ तर, आशा कहिल्यै मर्दैन, त्यसैले लाग्छ मभन्दा अघि धेरै मानिस लाममा छन्, मेरो पाला अझै आएको छैन।’
जोशीले शताब्दी उमेर टेक्दा उनका छरछिमेकी पनि निकै खुसी छन्। देशका लागि अनेक क्षेत्रमा योगदान पु¥याएका जोशीले देशैभर चर्चा कमाइरहँदा छिमेकीमा पनि हौसला उब्जिएको छ।
‘सत्यमोहन दाइ र म सानोदेखि नै सँगै खेल्दा आएका हौं। उहाँको हरेक काममा मैले प्रायः सहभागिता जनाएको छु। कति काममा त हातेमालो पनि गरेका छौं,’ तत्कालीन ललितपुर नगरपालिकाका पहिला मेयर बुद्धिराज बज्राचार्यले भने, ‘हामी मिलेर पाटन दरबार र यहाँका बौद्ध बिहार जोगाउन धेरै काम गरेका छौं, अहिले पनि इन्डियन एम्बेसीसँगको सहकार्यमा पाटन क्षेत्रका सम्पदा संरक्षणमा लागिपरेका छौं।’
फेसबुकबाट तपाईको प्रतिक्रिया