सरकारको ६ महिनाको प्रगति: लक्ष्यको केवल ४.२ प्रतिशत मात्र

काठमाडौँ ७ फागुन २०८१ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले निर्धारित लक्ष्यको मात्र ४.२ प्रतिशत काम सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको २८ सरकारी निकायको प्रगति विवरणअनुसार, आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा ८.५ प्रतिशत तथा ०७९/८० मा ११.२ प्रतिशत काम सम्पन्न भएको थियो।
सरकारले चालु आर्थिक वर्षमा एक हजार १० क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य राखेकोमा पुस मसान्तसम्म केवल ४.२ प्रतिशत मात्र सम्पन्न भएको छ। पुस मसान्तसम्म १ सय ५७ क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य भए पनि केवल २७ वटा मात्र पूरा भएका छन्, जुन १७.२ प्रतिशत मात्र हो। ७९.६ प्रतिशत कार्यहरू चालु अवस्थामा रहेका छन् भने ३.२ प्रतिशत काम सुरु नै हुन सकेको छैन।
आर्थिक क्षेत्रमा ४१ मध्ये १२, पूर्वाधार क्षेत्रमा ३८ मध्ये ५, शासकीय सुधारमा ३९ मध्ये ८, सामाजिक क्षेत्रमा ३९ मध्ये २ कार्य सम्पन्न भएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रमअनुसार २२ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, राष्ट्रिय तथ्यांक कार्यालय, र नेपाल ट्रस्ट कार्यालयसहित २८ निकायले कुल एक हजार १० क्रियाकलाप सम्पन्न गर्नुपर्ने थियो। साथै, १ हजार ९ सय ६१ माइलस्टोन तथा ३ सय ४४ वटा नतिजा सूचकहरू कार्ययोजनामा समावेश गरिएका थिए।
श्रेष्ठ प्रदर्शन गर्ने निकायहरूमध्ये कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल ट्रस्ट कार्यालयले १०० प्रतिशत कार्य सम्पन्न गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ८०.५ प्रतिशत, रक्षा मन्त्रालयले ५९ प्रतिशत र गृह मन्त्रालयले ५२.६ प्रतिशत प्रगति देखाएको छ।
अन्य महत्वपूर्ण मन्त्रालयहरूको प्रगति हेर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ४८.१ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४७.७ प्रतिशत, परराष्ट्र मन्त्रालयले ४२.९ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४०.९ प्रतिशत, अर्थ मन्त्रालयले ३९.२ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ३६.६५ प्रतिशत प्रगति गरेका छन्। अन्य मन्त्रालयहरूको प्रगति ३५ प्रतिशतभन्दा कम रहेको छ।
Advertisement
२०८१/८२ का कुल १ हजार ९ सय ६९ माइलस्टोनमध्ये १५.६ प्रतिशत मात्र पूरा भएका छन्। पुस मसान्तसम्म सम्पन्न हुनुपर्ने ६५१ मध्ये ४६.९ प्रतिशत सम्पन्न भएका छन्, ४२.१ प्रतिशत कार्यहरू चालु अवस्थामा छन् भने ११ प्रतिशत माइलस्टोन सुरु नै भएका छैनन्।
कमजोर प्रदर्शन गर्ने निकायहरूमा राष्ट्रिय सतर्कता केन्द्रले शून्य प्रतिशत प्रगति गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रगति १५.८ प्रतिशत, श्रम तथा रोजगार मन्त्रालयको २५ प्रतिशत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ३०.४ प्रतिशत, युवा तथा खेलकुद मन्त्रालयको ३०.६ प्रतिशत, सहरी विकास मन्त्रालयको ३२.५ प्रतिशत, सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको ३३.३ प्रतिशत तथा लगानी बोर्डको ३३.३ प्रतिशत मात्र रहेको छ।
सरकारी कामको प्रगति अपेक्षाकृत न्यून देखिएको छ, जसले आगामी महिनाहरूमा सरकारलाई लक्ष्य प्राप्तिका लागि थप चुनौतीहरू सिर्जना गर्न सक्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया