सरकारले एमालेको सहमतिबिना संविधान संशोधन गर्न नसक्ने:मन्त्री भण्डारी

काठमाडौँ २ कार्तिक

कावासोती-वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा एमालेको सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताएका छन्।  नवलपरासीको मध्यबिन्दु-२ कोल्हुवामा सोमबारदेखि सुरु भएको १२ औँ राइनो संरक्षण गोल्डकप-२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका बेला नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको समेत बताए।

सरकार र मधेसी दलबीच संविधान संशोधनको सहमति भएपछि त्यसको जानकारी एमालेलाई गराउने र सोही आधारमा संशोधन हुने वनमन्त्री भण्डारीले जानकारी दिए। एमालेले खोजेको औचित्य जुटाउन गृहकार्यमा सरकार रहेको पनि उनले बताए।  “संविधान कार्यान्वयन भनेको सरकारले स्थानीय, प्रदेश र राष्ट्रिय सभासहित केन्द्रको चुनाव गराउने हो हामी त्यो दायित्व पूरा गर्न लागिपरेका छौँ” मन्त्री भण्डारीले भने, “स्थानीय निर्वाचन यही संरचनाभित्र भएपनि गर्नुपर्छ।” स्थानीय तहको पुनःसंरचनाका विषयमा संवैधानिक आयोग र सरकारबीचको केही कुरा मिल्न बाँकी छ कुरा मिलेन भने पनि चुनाव गर्नुपर्ने उनको जिकिर छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया