सरकारी पैसा अब वाणिज्य बैंकमा पनि

काठमाडौं ४ माघ

सरकारले आफूसँग भएको रकम अब वाणिज्य बैंकमा पनि राख्ने भएको छ। वित्तीय प्रणालीमा लगानीयोग्य तरलता बढ्ने तथा सरकारलाई ब्याज आम्दानी पनि हुने भएकाले सरकारले वाणिज्य बैंकहरूमा समेत खाता खोली रकम जम्मा गर्ने भएको हो। यसका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्ने तयारी भइरहेको अर्थसचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए। नयाँ पत्रिकाले बुधबार आयोजना गरेको दोहोरिइरहने तरलता अभाव विषयक अन्तर्क्रियामा सचिव अधिकारीले यस्तो बताएका हुन्। हाल सरकारले आफ्नो रकम केन्द्रीय बैंकमा मात्रै राख्दै आएको छ । विज्ञका सुझाव तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सरकारले आफूसँग भएको रकम केन्द्रीय बैंकका अलावा वाणिज्य बैंकहरूमा समेत राख्ने तयारी गरिएको जानकारी उनले दिए।  अर्थ मन्त्रालयले बजारमा देखिएको लगानीयोग्य तरलता अभावको समस्या समाधानलाई सुझाव दिन सरकारले एउटा अध्ययन समिति बनाएको थियो ।

उक्त समितिले समेत नीतिगत तथा कानुनी व्यवस्था गरेर वाणिज्य बैंकमा रकम जम्मा गर्न सकिने सुझाव दिएको जानकारी अर्थसचिव अधिकारीले बताए। ‘सरकारी ट्रेजरीको रकम वाणिज्य बैंकमा सार्न नीतिगत र कानुनी संशोधन गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले यस्तो व्यवस्था गर्न आवश्यक तयारी थालिसकेको छ।’ अर्थ मन्त्रालयले यथाशक्य चाँडो सरकारी खातामा रहेको रकम वाणिज्य बैंकमा समेत जम्मा गर्न सक्ने व्यवस्था गर्ने तयारी गरिरहेको छ। ढिलोमा आगामी बजेटमार्फत यस्तो व्यवस्था गरिने उनले जानकारी दिए। सरकारी कोषमा अहिले ३ खर्ब ३० अर्ब रुपैयाँ छ । तर, त्यसमध्ये ‘सरकारी रकम त्यसै थन्किएर बसेको राम्रो होइन। त्यसैले पनि यसलाई वाणिज्य बैंकमा समेत सार्ने व्यवस्था गर्न थालिएको हो,’ उनले बताए। तर, सरकारी कोषको रकम राष्ट्र बैंकमा भए पनि वाणिज्य बैंकहरू, जहाँ भए सरकारले काटेको चेक बाउन्स हुने किसिमको अवस्था आउन नहुने भन्दै त्यसका लागि समेत आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो। नयाँपत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया