सर्वोच्च शिखर सगरमाथाको साखमा किन आउँदैछ ह्रास ?

काठमाडौँ २० जेष्ठ

यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ। सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ । यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् ।

सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन्।

कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन् ।

तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् ।

यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन ।

सगरमाथामा ट्राफिक जाम
सगरमाथामा छोटो समयका लागि मात्र आरोहणअनुकूल मौसम हुने गर्छ । त्यही छोटो अवधिमा धेरै आरोहीले सगरमाथा आरोहण गर्नुपर्दा ट्राफिक जाम हुने गरेको छ ।

मौसम अनुकूल हुनेबित्तिकै एकैपटक धेरै आरोही र तिनका सहयोगी शिखर पुग्न खोज्छन् । त्यस्तै, आरोहण गरिसकेका पनि त्यही अवधिमा फर्किरहेका हुन्छन् ।

यसले गर्दा क्याम्प ३ भन्दा माथि जाम हुन पुग्छ । खासगरी हिलारी स्टेपमा धेरैजना अड्किने गरेको आरोहीहरू बताउँछन् । यसपटक आरोहणपछि फर्केर हिलारी स्टेपमा तीन घन्टासम्म पालो पर्खनुपरेको आरोही सोना शेर्पाले बताए ।

‘लामो समय पालो पर्खनुपर्दा कतिपयको अक्सिजन सकिने अवस्था आउँछ भने कतिपय थाक्छन्,’ पाँचपटक सगरमाथा शिखर पुगिसकेका उनी भन्छन्, । आरोहीहरू शिखरतर्फ उक्लँदै थाकिसकेका हुन्छन्, फर्कंदासमेत लाइनमा बस्नुपर्दा झन् असजिलो हुने शेर्पाहरूको भनाइ छ ।

थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाल सरकारले सगरमाथा आरोहणलाई व्यवसायीकरण गरेर धेरै आरोहीलाई अनुमति दिएका कारण मृत्यु हुनेको संख्या बढेको समाचार सम्प्रेषण गरेका छन् ।

यद्यपि, नेपाली सरकारी अधिकारी र शेर्पाहरू त्यस्तो आरोप अस्वीकार गर्छन् । प्रख्यात आरोही कामीरिता शेर्पा पनि आरोही धेरै भएर निधन हुनेको संख्या बढेको तर्क मान्न तयार छैनन् ।

‘झन्डै चार सयको संख्या ठूलो होइन । तर, गुणस्तरीय शेर्पा तथा गाइड र गुणस्तरीय सामानको प्रयोग नगर्दा दुर्घटना बढेको हो,’ उनी भन्छन् ।

सस्तो खोज्दा आरोहीले राम्रो जनशक्ति नपाएको उनको भनाइ छ । ‘कम्तीमा पनि राम्रो शेर्पा, गाइड लैजाने हो भने आरोहीको मृत्यु कम हुन्छ,’ उनले थपे, ‘आरोहणको गुणस्तर बढाउन ध्यान दिनुपर्छ।’

सगरमाथाजस्तो विश्वको धरोहर आरोहण गर्न चाहनेजति सबैलाई अनुमति दिने कि बर्सेनि निश्चित संख्या तोक्ने? यस्तो बहस सुरु हुँदै गर्दा पर्यटन विभाग माउन्टेनियरिङ शाखा प्रमुख मीरा आचार्यले अहिले नै आरोही संख्या तोक्नेबारे सरकारले नसोचेको बताइन् ।

‘छोटो समयमा मौसम अनुकूलता हेरी आरोहण हुने हुँदा चाप बढेको हो,’ उनले भनिन्, ‘आरोहीको संख्या बढी भएका कारण निधन हुनेको संख्या बढेको भने होइन।’

फेसबुकबाट तपाईको प्रतिक्रिया