सहकारी संस्थाले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने

काठमाडौँ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को २८ औं वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारीमा वित्तीय सुशासन कामय गर्नुपर्ने बताइन् ।

‘अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘समयसापेक्ष रुपमा प्रविधि प्रयोग गर्नुपर्छ ।’ अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष प्रविधिको प्रयोग गर्नुपर्ने धारणा राखिन् । सहकारी क्षेत्रमा केही खतरा देखापरेको भन्दै उनले अब सहकारीका सञ्चालक सदस्यहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण पेस गर्नुपर्ने बताइन् ।

सहकारी अभियानले अब संख्या बढाउने भन्दा पनि गुणस्तरमा प्राथमिकता दिनुपर्ने उनको धारणा थियो । ‘सहकारी संस्थाको मर्जर अभियान अभियन्तालाई हेरेर ल्याइएको हो, उनले भनिन्, ‘संस्था धेरै भएर मात्र प्रगति हुन सक्दैन।’ वित्तीय कारोबार बढी गर्ने संस्थाबीच बढी मर्जर गर्न खोजिएको उनले बताइन् । ‘संस्था बढाउनुभन्दा मर्जर गरेर कार्यक्षेत्र बढाउँदा राम्रो हुन्छ,’ उनले भनिन्।

सरकार, सहकारी र निजी क्षेत्रलाई राज्यले संविधानमार्फत विकास र समृद्धिको साझेदार मानिसकेको दोहोऱ्याउँदै मन्त्री अर्यालले अब सहकारीमार्फत मुलुक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने धारणा राखिन् । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरणमा राज्य अगाडि बढ्ने भन्दै त्यसको अगुवाई सहकारीले गर्नुपर्ने उनको भनाइ छ। राष्ट्रिय पुँजी निर्माण अहिलेको मूल विषय भएको भन्दै मन्त्री अर्यालले उत्पादन र उत्पादकत्व वृद्धि नगरी राष्ट्रिय पुँजी निर्माण हुन नसक्ने बताइन्।

राज्यले लिएको समाजवादमा पुग्ने लक्ष्य पूरा गर्न सबै प्रकारका गरिबी अन्त्य हुनुपर्ने अर्यालको धारणा थियो। ‘सबै प्रकारको गरिबीको अन्त्य पहिलो मन्त्र हो। सहकारीसँग तल्लो तहसम्मका जनतालाई मोटिभेसन गर्ने शक्ति छ,’ उनले भनिन्, ‘दुई-चारजनाले प्रगति गरेर हुँदैन । तल्लो वर्गलाई माथि उठाउने गरी अबको सहकारी गतिविधि सञ्चालन गर्नुस् ।’ यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया