सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच व्यापार ऋण सम्झौता

काठमाडौं ८ फागुन २०८१ । सानिमा बैंक लिमिटेड र बेलायत सरकारको ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) बीच करिब दुई अर्ब अर्थात १ करोड ५० लाख अमेरिकी डलरको व्यापार ऋण सम्झौता भएको छ । बैंकले उक्त ऋणको लागि ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा लगानी हुनेछ । यस साझेदारीले सानिमा बैंकको ‘ट्रेड फाइनान्स सर्भिस’ लाई महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

सम्झौतामा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरे । उक्त साझेदारीले नेपालको उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुरेयाउने विश्वास लिएको जनाएको छ ।

बैंकले उक्त सम्झौता जैविक इन्धनको निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित भएको जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया