सार्क सम्मेलनमा भाग नलिने भारतको घोषणा

काठमाडौं १२ अशोज
आउँदो नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा तय भएको सार्कको १९ औँ शिखर सम्मेलनमा भारतले भाग नलिने घोषणा गरेको छ। नयाँ दिल्लीमा मंगलबार भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भारत शिखर सम्मेलनमा सहभागी नहुने जानकारी सार्क अध्यक्ष राष्ट्र नेपाललाई पठाएको बताएका हुन्। तर यस विषयमा सार्क अध्यक्ष नेपालको आधिकारिक धारणा बाहिर आएको छैन । सार्क शिखर सम्मेलनमा सहभागी नहुने भारतको घोषणालाई पाकिस्तानले दुर्भाग्यपूर्ण भनेको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ- भारतले सार्कको वर्तमान अध्यक्ष नेपाललाई १९ औँ सार्क शिखर सम्मेलन इस्लामावादमा सफलतापूर्वक सम्पन्न गर्न नसकिने वातावरण सिर्जना भएको जानकारी दिएको छ। ‘यस क्षेत्रमा बढ्दो सीमापार आतंकवादी आक्रमण र सदस्य राष्ट्रहरुको आन्तरिक मामिला एक देशको बढ्दो हस्तक्षेपले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने वातावरण नभएको’ भारतको भनाई छ । ‘यस्तो अवस्थामा भारत प्रस्तावित सम्मेलनमा सहभागी हुन असमर्थ छ’,प्रेस नोटमा भनिएको छ। त्यहाँको सरकारी स्रोतलाई उद्धृत गर्दै भारतको एनडिटिभीले अफगानिस्तान, भुटान र बंगलादेशले पनि सार्क सम्मेलनमा सहभागी नहुने जनाएको छ। बंगलादेशको डेलीस्टार डट नेटले त्यहाँको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बंगलादेशले सार्क शिखर सम्मेलन बहिस्कार गरेको उल्लेख गरेको छ। ८ मुलुक सदस्य रहेको सार्कको कुनै एक सदस्य राष्ट्र शिखर सम्मेलनमा सहभागी नभए सम्मेलन नै नगर्ने चलन छ। सेप्टेम्बर १८ मा भारत प्रशासित जम्मु कास्मिरको उरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ। यो आक्रमणमा ८५ जना सर्वसाधारणको मृत्यु भएको थियो। कास्मिरमा हिंसात्मक घटनाहरु भैरहँदा भारतले पाकिस्तामाथि आतंकवादी समूहहरुलाई सघाएको आरोप लगाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया