सिँचाइ अभावका कारण खेत बाँझै

काठमाडौँ ४ साउन ,
पाल्पा -सिँचाइ अभावका कारण जिल्लाका अत्रौली, बैडी र पुट्टारका किसानले धान रोप्न पाएका छैनन्। अत्रौली सिँचाइ नहरको विभिन्न ठाउँमा मर्मत तथा पुनःनिर्माण भइरहेकाले किसानले समयमा नै धान रोप्न नपाएका हुन् । खेतमा हरियाली छाउने बेलामा ब्याडमै बीउ पहेँलिन थालेको किसान बताउँछन् । नहरको मुहानदेखि पुछारसम्मका विभिन्न भाग जगैदेखि भत्किएका छन्।
“मर्मतको काम भइरहेकाले नहरमा पानी सुचारु गर्न नसकिएको हो,” अत्रौली सिँचाइ योजनाका अध्यक्ष रामजी अर्यालले भने। असारको अन्तिम साताबाट पानी सुचारु गर्न नहरको मर्मतको काम सुरु गरेको हो। “रोप्ने बेलामा पानी छैन,” अगुवा किसान कमलप्रसाद अधिकारीले भने।  बीउ छिप्पिदै गएकाले उत्पादनमा कमी आउने उहाँलाई चिन्ता छ।
डुम्रीवेशीको मुहानमा बाँध बाधेर ल्याइएको सो नहरको पानीले बैडी, भुवनटार, अत्रौली र पुट्टारका ८६० घरधुरी किसानले विगतमा धान रोपाइँ गर्ने गरेका थिए । करिब १८ किलोमिटर लामो उक्त नहरबाट ३३५ हेक्टर जमिनमा सिँचाइ गरिँदै आएको थियो। एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा २० करोडको लागतमा उक्त नहर मर्मत तथा पुनःनिर्माण भइरहेको छ। विसं २०४६ मा निर्माण भएको सो नहर एक दशकयता ठाउँ ठाउँमा भत्किँदा किसानलाई सिँचाइ गर्न समस्या भएको थियो।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया