सिटिजन्स बैंकको ४ नयाँ शाखा सञ्चालनमा

बिजनेसपाटी ३१ असार ।
सिटिजन्स बैंक इन्टरनेसनलले आज बैंकको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारी गरि कुल ४ वटा शाखाहरु संचालनमा ल्याएको छ ।
सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ४ वटा शाखाहरु संचालनमा ल्याएको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले यहि आ.व २०७४।७५ मा नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर, इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी, धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि र दाङको बंगलाचुली गरि कुल १४ शाखाहरु संचालनमा ल्याइसकेको छ ।
मुलुक संघीय प्रणालीमा गएसंगै दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकले सहयोग गरेको देखिन्छ । निकट भविष्यमा नै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जनाए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनैपनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया