सिटिजन्स बैंकको ६२ औं शाखा मकवानपुरको मनहरीमा
काठमाडौं,२८ भदौ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६२औं शाखा मकवानपुरको मनहरीमा समुद्घाटन गरेको छ ।
हिजो मंगलबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विधिवत पूजापाठ गरी बैंकिङ्ग कारोवारको सरुवात गरेका हुन् । उक्त समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगवाहरूको बाक्लो उपस्थिति थियो ।
सो शाखा समुद्घाटनको अवसरमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप रु. १०,०००।– प्रदान गरेको छ ।
मनहरी शाखाको विधिवत समुदघाटनसँगै सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहक महानुभावहरुलाई देशभरी फैलिएका बैंकको ६२ वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया