सिटिजन्स बैंकद्वारा महोत्तरीमा कम्बल वितरण

बिजनेसपाटी ५ माघ ।

सिटिजन्स बैंक इन्टरनेसनलले चिसोका कारण प्रभावित महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातिका विप्पन निसहाय व्यक्तिहरुलाई आज कम्बल वितरण गरेको छ ।
दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएका एवं न्यानो कपडाको अभावले जाडोमा दुःख भोग्दै बसेकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरहीमा बैंकले कम्बल वितरण गरेको छ । जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा बैकले गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरेको हो ।
गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर, असक्त, असहाय, बिधवा, साधु, सन्तहरुलाई कम्बल वितरण गरिएको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले गरेकी हुन् । उक्त हस्तान्तरण समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ, गौशाला नगरपालिकामा वडा नं ५ का प्रमुख धर्बेन्द्र साह, वडा नं ४ का वडा प्रमुख रामबाबु साह र औरही नगरपालिका वडा नं १ का प्रमुख राज किशोर चौधरी र वडा नं २ का प्रमुख बिनोद पजियारको उपस्थिति रहेको थियो ।
कसैको आँखा न पुगेको मुसहर बस्तीमा बैंकले कम्बल वितरण गर्दा त्यहाँका स्थानीय बासिन्दाहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी दिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया