सिद्धार्थ बैंकको पुन: ३० प्रतिशत हकप्रद, यसरी पुग्ने भयो पूँजी
बिजनेसपाटी २८ पौष
सेयरधनीहरुलाई सिद्धार्थ बैंकले पुन ३० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । पुस २७ गतेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट प्रदान गर्ने ३९ प्रतिशत बोनस र साधारणसभा प्रयोजनका लागि माघ २० गतदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।
यस अघि नै बैंकले गत कात्तिकमा ७५ करोड ५५ लाख रुपैयाँको २५ प्रतिशत हकप्रद निष्काशन गरिसकेको छ । गत बर्षको खुद नाफाबाट ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरेपनी २५ प्रतिशत हकप्रदलाई समेत बोनस दिदाँ ३९ प्रतिशत कायम भएको हो । बैंकको बोनस प्राप्त गर्न माघ १९ गतेसम्म सेयर किन्नुपर्ने हुन्छ । फागुन ५ गतेलाई बैंकले साधारणसभाको मिति तोकेको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार बैंकको चुक्ता पूँजी तीन अर्ब ३७ करोड ५१ लाख १९ हजार रहेको छ । बैंकले यसअघि निष्काशन गरेको २५ प्रतिशत हकप्रदको ७५ करोड ५५ लाख थपिदाँ चुक्ता पूँजी चार अर्ब १२ करोड ५६ लाख पुगेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट प्रदान गर्ने ३९ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी पाँच अर्ब ७३ करोड ४६ लाख पुग्नेछ ।
आगामी फागुन ५ गतेको साधारणसभाबाट अनुमोदन भई निष्काशन हुने ३० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ४५ करोड ५० लाख पुग्नेछ । यसरी बैंकले चालु आर्थिक बर्षको बोनस दिदा नै राष्ट्र बैंकले भने बमोजिम ८ अर्ब पुजी पुर्याउन प्रयाप्त हुने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया