सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद फागुन २ गतेदेखि

 काठमाडौँ १२ माघ

सिद्धार्थ बैंकले फागुन २ गतेदेखि १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

सिद्धार्थ बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

 हकप्रदका लागि बैंकले माघ २० गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ १९ गतेसम्म कायम बैंकका साविक शेयरधनीले मात्र आवेदन गर्न पाउने सो हकप्रद सेयरमा चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस ४ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ । राष्ट्र बैंकले तोके बमोजिमको बाँकि रकम परिपूर्ति गर्न बैंकको चालू आवको नाफाबाट बोनस वितरण गर्नेछ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख खुद मुनाफा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया