सिन्धुपाल्चोकमा बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते

सिन्धुपाल्चोक २४,कात्तिक २०७८।सिन्धुपाल्चोकको हेलम्बु ७ इचोकबाट काठमाडौंको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ।सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हनेमा हेलम्बु-३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ।घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिए। 

घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। बस चालकलाई  प्रहरीले  नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको छ। ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ। RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया