सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्न सार्वजनिक लेखा समितिको निर्देशन
काठमाण्डौ ९ माघ २०८१
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विस्तृत अध्ययन गरी मूल्यवृद्धि रोक्न निर्देशन दिएको हो।
समितिले कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण र परीक्षण गर्नका लागि प्रविधिको विकास गरी प्रयोगमा ल्याउन उद्योग मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
बैठकमा सिमेन्ट उद्योगमा लोडसेडिङका कारण उत्पादनमा ह्रास आएको र त्यसकै कारण भाउ बढेको बताइएको छ। सभापति ऋषिकेश पोखरेलले ऊर्जा मन्त्रालयसँग यसबारे जवाफ माग्ने निर्णय भएको जानकारी दिए।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अघोषित लोडसेडिङका कारण उत्पादनमा कमी आएको र त्यसैले केही मूल्यवृद्धि भएको हुनसक्ने बताए। उनले सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय गरेर समस्या समाधान गर्ने आश्वासन दिए। साथै, सिमेन्टका मूल्यमा एकरूपता ल्याउने गरी पहल भइरहेको जानकारी गराए।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सिमेन्टको मूल्यवृद्धि राज्यकै मिलोमतोमा भएको आरोप लगाए। उनले मूल्यवृद्धि तत्काल रोक्न नसके निर्माण आयोजनाहरूको लागत बढ्ने चेतावनी पनि दिए।
समितिका सदस्यहरूले सिमेन्टको मूल्यवृद्धिको कारणबारे गहिरो अध्ययन गरी त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए। मूल्यवृद्धिका कारण निर्माण आयोजनामा असर परिरहेको भन्दै उनीहरूले तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया