सिरियामा सत्र लाख मानिसले पानी खान नपाउने

बिजनेसपाटी ९ अशोज
विद्रोहीको कब्जामा रहेको सिरियाको एलेप्पो नगरको पूर्वी क्षेत्रमा १७ लाख ५० हजार बढी मानिस खानेपानीको अभावमा काकाकुल बन्ने अवस्थामा छन् ।
दी गार्जियनले शनिवार दिएको समाचारअनुसार संयुक्त राष्ट्रसंघका अधिकारीहरूले शुकवारको व्यापक बम वर्षाका कारण खानेपानीको ठूलो अभाव भएको बताएका हुन् । बम वर्षाविरुद्ध सुलेमान अल हबाबीस्थित खानेपानीको बोरिङ पम्पको स्विच बन्द गरिएपछि समस्या उत्पन्न भएको पनि उनीहरूले बताएका छन् ।
सिरियास्थित युनिसेफकी प्रतिनिधि हाना सिङ्गरले करिब २० लाख मानिस सार्वजनिक खानेपानी आपूर्तिबाट वञ्चित भएको जानकारी दिइन् ।
सिरियाली र रुसी विमानले लगातार तीन दिनसम्म बम वर्षा गरिरहेपछि खानेपानी आपूर्ति बन्द भएको हो । यसरी खानेपानी नहुँदा बालबालिकाको स्वास्थ्यमा गम्भीर प्रतिकूल प्रभाव पर्ने भएकाले लडाइँमा खानेपानीजस्ता अत्यावश्यक वस्तुमा आक्रमण नगर्न पनि सिङ्गरले आह्वान गरेकीछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया