सुनको भाउ बृद्धि र यसको कारण

 

माणिक रत्न शाक्य

नेपालमा अहिले लकडाउन चलि रहेको छ । कोरोना भाइरसको विश्वब्यापी महामारीबाट नेपालमा पनि सयौं जना संक्रमितहरु देखिन थाले पछि त्यसलाई नियन्त्रण गर्न बिभिन्न औषधीय उपायहरुका साथसाथमा यो बन्दाबन्दीको पनि उपाय प्रयोग गरिएको हो । नेपाल जस्तो गरिब देशमा जहाँ स्वास्थ्य सम्बन्धि सुविधा कम छ, संरचनाहरु कम छ, औषधि र स्वास्थ्य यन्त्रहरु कम छन्, त्यहाँ लकडाउन भन्दा उपयुक्त बिकल्प अर्को छैन । यो कोरोना भाइरसका कारणले सारा विश्वमा नै कसैले नचिताएको असर पर्न थालेको छ । धनी, शक्तिशाली र मै हुँ भन्ने अमेरिका, युरोप, रुस, चीन, भारत जस्ता देशहरुलाई यो भाइरसले घुँडा टेकाई दिएको छ भने यसले धेरै दीर्घकालीन आर्थिक, सामाजिक र राजनीतिक असर पुर्याउने निश्चित देखिएको छ । देशमा रहेका बिभिन्न उद्योग धन्दाहरु, ब्यवसायहरु, कारोबारहरुमा यसको नकारात्मक प्रभाव पर्ने कुरा निश्चित छ । हामीहरु कसैले पनि जिन्दगीमा कहिले पनि नदेखेको रोगको महामारीको रुप अहिले हामीले देख्दै भोग्दैछौं ।


यही सन्दर्भमा विश्वमा सुनको भाउ बिस्तारै उकालो लाग्न थालेको छ । नेपालको सुन बजारमा २०६९ सालमा ७३५००र. सबैभन्दा महँगो भाउमा कारोबार भई रिकर्ड कायम भएकोमा २०७६ सालको फाल्गुण २७ गते फेरी ८२७००र. को भाउमा पुगेर अर्को नयाँ रिकर्ड कायम गर्यो । अहिले चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु भएकोे छ । हामी बन्दाबन्दी मै छौं तर यही समयमा अन्तर्राष्ट्र्यि बजारको सुनको भाउ बढेर १७५४ डलरसम्म पुगेको छ भने डलरको नेपाली मुद्राको विनिमय दर पनि १२०र. भन्दा माथी पुगेर नेपाली सुनबजारमा सुनको भाउ ९० हजार भन्दा माथीको भाउमा समेत पुगेको छ । यो नेपालको सुनको भाउको इतिहासमा नै सबैभन्दा बढी सुनको भाउ हो । यस्तो किन भईरहेको छ ? किन सुनको भाउमा रिकर्ड माथी रिकर्ड बनाउने श्रृंखला चल्दै छ ? यसको मुख्य कारणहरु र यसले विश्वको अर्थतन्त्रमा पारेको असर र नेपाली सुन बजारमा र अर्थतन्त्रमा पार्ने असरका बारेमा हामी चर्चा गर्न गईरहेका छौं ।

सुनको परिदृश्य :

विश्वको अर्थतन्त्रमा सुन हजारौं बर्ष देखि नै सम्पत्तिका रुपमा प्रचलनमा रहेको छ । बिभिन्न सभ्यताहरुको बिकास क्रम सँगसँगै धनको संग्रह र अर्थतन्त्रको पनि बिकास हुँदै आएको छ । मुद्राको आविस्कार भए पछि सबै भन्दा पहिले मुद्रा निस्काशन गर्ने देश चीन हो । युरोपमा पनि बिभिन्न किसिमका मुद्राहरुको प्रचलन रहेको कुरा मुद्राको युरोपका बिभिन्न मुद्रा संग्रहालयहरुको अध्ययन गर्दा देखिन्छ । ती समयमा सबैभन्दा बढी रुचाइएको धनको स्वरुप भनेको सुन नै थियो । यो कहिले पनि ननासिने, चमकदार, पवित्र र मूल्यवान धातु हो भन्ने ज्ञान हुनासाथ अधिकांश सभ्यतामा सुनको संग्रहबाट नै सभ्यताहरुको अर्थतन्त्रहरु चलेको हामी ईतिहासको अध्ययन गर्दा देख्न सक्छौं । जुन शासक वा सभ्यतासँग सुनको संग्रह भयो त्यो शासक वा सभ्यता धनी, सम्पन्न र शक्तिशाली मानिन्थ्यो । आधुनिक समयमा धनको अर्थशास्त्रको परिभाषा सहित अर्थशास्त्रका बिद्वानहरु मध्ये एडम स्मीथले ूवेल्थ अफ नेशन्सू मा र जर्मनीका कार्ल माकर््सले ूदास क्यापिटलू को रचनाहरुमा पनि देश तथा राज्यहरुको अर्थतन्त्र निर्माण गर्ने बिभिन्न बिधिहरु र धनको परिभाषाहरु आआफ्नै सिद्धान्त अनुसार परिभाषित गरेका छन् । जुनसुकै सिद्धान्त अनुसार अर्थशास्त्रको अध्ययन गर्दा पनि धनको बिशेष महत्व रहेको छ र धनको बितरण गर्ने प्रणाली र सिद्धान्तहरु मात्र फरक फरक रहेको पाईन्छ । सिद्धान्तमा समाजवादी वा पूँजीवादी भनेर फरक रहे पनि धन र अर्थको महत्व र अर्थशास्त्रको महत्वपूर्ण स्थान विश्वको अर्थतन्त्रमा देखिन्छ । अहिलेको विश्वमा पनि सम्पत्ति र धनको बिभिन्न औजारहरुमा सुनको महत्वपुर्ण स्थान रहेको छ । सुनले संसारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान लिई नै रहेको छ ।

आर्थिक प्रभाव  

पहिलो विश्वयुद्धको बेलासम्म बढिजसो संसारको अर्थ ब्यवस्था बेलायतको मातहतमा आएको थियो । साम्राज्यबादको प्रयोग गर्दै धेरै उपनिवेशहरु मार्फत संसार नै बेलायतको जस्तो भएको थियो । बिभिन्न देशहरुको सम्पत्ति लन्डनमा थुप्रिएको थियो र बेलायतको पाउण्ड सबै भन्दा बलियो मुद्राको रुपमा प्रचलनमा रहेको थियो । दोश्रो विश्वयुद्धमा बेलायत लगायत युरोपमा हिटलरको आक्रमण भए पछि सबै युरोप नै हिटलरको कब्जामा गएको थियो । त्यहाँ भएका सम्पत्तिहरु कब्जा गर्दै दोश्रो विश्वयुद्धमा जर्मनी मुख्य लडाकु देश भएको थियो । ईतिहास अध्ययन गर्दा दोश्रो विश्वयुद्धमा हिटलरलाई पराजित गरिसके पछि सम्पूर्ण युरोपको सुनहरु अमेरिकामा लगिएको थियो । जर्मनी, फ्रान्स, बेलायत लगायतका देशहरुले आआफ्नो देशमा भएका सुनहरु अमेरिकाको ”फोर्ट नोक्सू” ” Fort Knox” भन्ने स्थानमा भण्डारण गर्ने र अमेरिकी डलरलाई विश्वब्यापी रुपमा सर्वस्वीकार्य मुद्राको रुपमा प्रचलनमा ल्याउने सम्झौता गरेका थिए । अहिले पनि हामीले विश्वको अर्थतन्त्रमा डलरलाई सर्वस्वीकार्य मुद्राको रुपमा प्रचलनमा आईरहेको देख्न सक्दछौं ।

इतिहासमा विश्व अर्थतन्त्रको झलकः

सन १९१३ मा अमेरिकामा फेडरल रिजर्भ बैंक अफ अमेरिकाको स्थापना भएको थियो । यसको प्रमुख उद्देश्यमा रोजगारीमा बृद्धि गर्ने, मूल्य स्थायित्वमा राख्ने र दीर्घकालिन रुपमा ब्याजदरलाई नियन्त्रणमा राख्नु रहेको थियो । त्यसपछि बैंकहरुलाई सुपरिवेक्षण गर्ने, नियमन गर्ने, संस्थागत डिपोजिटहरु लिने र अर्थब्यवस्थालाई स्थायित्व दिने थप अधिकार पनि यसले पायो । यसको स्थापना पछि अमेरिका विश्व अर्थतन्त्रको नेताको रुपमा उदाएको हो । आधुनिक विश्वको अर्थतन्त्रमा सुनको प्रयोग पनि अमेरिकी डलरको प्रयोग सँगसँगै हुँदै आएको हो । सन १९७१ सम्म अमेरिकामा डलरको नोटमा लेखिए जति रकमको भुक्तानी सुनबाट गरिने छ भन्ने फेडरल रिजर्भ बैंकले प्रत्याभुति दिइएको डलरको नोट प्रचलनमा रहेको थियो । डलरलाई सुनको बराबर मान्यता दिई चलन चल्तीमा ल्याई त्यसलाई gold Standard को रुपमा विश्वले नै मान्यता दिएको थियो । त्यतिबेलासम्म सुनको मूल्य ३५ डलर प्रति आउन्स रहेको थियो । सन १९३३ मा फ्रायन्कलिन डी रुजवेल्टले सुनसँग डलरको सम्बन्धमा कमी गर्न र सुनको मौज्दात बढाउन अमेरिकामा भए भरका जनतासँग रहेका ढिका सुन, गहना, असर्फि लगायतका सुनहरुलाई सोही मूल्यमा लिएर जनताले सुन राख्न नै नपाउने कानुन बनाए । त्यसको २ बर्ष पछि “Bretton wood” सम्झौता गरि विश्वका प्रमुख राष्ट्र्हरुसँग विश्वको आर्थिक प्रणालीको जग राखे । डलरलाई विश्वको मुख्य मुद्राको रुपमा प्रयोग गरि चलाउन डलर छाप्दा त्यसको मूल्य बराबरको सुन रिजर्भमा राखी सुनको ग्यारेन्टी भएको सुरक्षित मुद्राको रुपमा निष्कासन गरिन्थ्यो । सन १९७१ मा अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनले मुद्रास्फितिलाई नियन्त्रणमा राख्न र मुद्राप्रदायलाई बढाउन भनी चलनचल्तीमा रहेको “Gold Standard”   लाई हटाई “Fiat currency System” मा लगे । त्यसपछि डलर छाप्दा त्यसलाई back up गर्न सुनलाई ढुकुटीमा राख्न छोडेको हो । यहिँबाट विश्वको बजारमा सुनको मूल्यमा बृद्धि आउने क्रम शुरु भएको हो ।

बासेल ३ को प्रभाव 
आधुनिक बैंकिंगको नियमन र विश्वको मौद्रिक ब्यवस्थालाई ब्यवस्थित गर्न प्रमुख २८ वटा देशहरुको अगुवाईमा बासेल समितिको गठन गरि स्वीजरल्याण्डमा मुख्य कार्यालयको स्थापना भएको छ । यसले बिभिन्न समयहरुमा संसारका सबै रिजर्भ बैंकहरुलाई नयाँ नयाँ बैंकिंग सिद्धान्तहरु प्रतिपादन गरि प्रयोगमा ल्याउँछ र विश्वको अर्थ ब्यवस्थालाई अझ बढि सुरक्षित, भरपर्दो बनाउने प्रयास निरन्तर गरिरहेको हुन्छ । सन २०१५ मा यस संस्थाले basel 3 सिद्धान्त स्वेच्छिक रुपमा लागु गर्न निर्देशन गरेको छ । रिजर्भ बैंकहरुले आआफ्नो ढुकुटीमा बिभिन्न Tier 1, tier 2, Tier 3 खण्ड गरि बिभिन्न बिदेशी मुद्रा, बण्डहरु, सेक्यरिटिहरु, सुन लगायतका सम्पत्तिहरु राख्नु पर्ने ब्यवस्था गरेकोमा डलर र अमेरिकी बण्डलाई पहिलो खण्डमा अनि सुनलाई तेश्रो खण्डमा मात्र स्थान दिइएको थियो । Tier 1 मा अमेरिकी डलर, बण्ड लगायतका सम्पत्ति रहेकोमा अमेरिकाको ऋण23 Trillion डलर भन्दा बढी भईसकेको र Fiat currency को रुपमा अमेरिकी डलरको अत्यधिक छपाई भएकोले विश्वसनीयतामा कमी आउँदै गएकोले सन २०१९ को सेप्टेम्बर देखि डलर र बण्डलाई तेश्रो खण्डमा लगी त्यसकोे सट्टामा पहिलो खण्डमा सुन नै राख्नु पर्ने ब्यवस्था लागु गरेको छ । यसलाई सन २०२२ को जनवरी १ सम्ममा अनिवार्य सबै देशका रिजर्भ बैंकहरुले लागु गर्नु पर्ने अवस्था छ । त्यसपछिको समयमा हामीहरुले बिभिन्न देशहरुका रिजर्भ बैंकहरुले धमाधम सुन खरिद गरि आआफ्नो ढुकुटीमा सुनको मौज्दात बढाउँदै लगेको देख्छौं । युरोपका धेरैवटा देशहरुले सुन खरिद गरेका छन् भने एसियाका पनि रुस, चीन, भारत, ईरान लगायतका बिभिन्न देशका रिजर्भ बैंकहरुले सुनको मौज्दात बढाएका छन् ।

सुनको औद्योगिक प्रयोगमा बृद्धि

बिभिन्न धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक प्रयोगहरुका अलावा अहिले बिभिन्न नयाँ नयाँ ग्याजेटहरु बनाउने औद्योगिक उत्पादनहरुमा पनि सुनको प्रयोगहरु बढ्दै गईरहेको छ । एप्पल देखि बिभिन्न मोबाइल तथा कम्प्युटर बनाउने कम्पनीहरुले बार्षिक सयौं टन सुनको उपयोग गर्दैछन् । विश्वको अर्थ ब्यवस्थामा अहिले क्रिप्टोकरेन्सीहरुको पनि प्रयोग बढ्दै गएको छ । ईरान, चीन लगायत रुसले विश्वमा नयाँ क्रिप्टोकरेन्सीको शुरुवात गर्दैछन् र त्यसको लागि पनि सुनको ग्यारेन्टी दिने उद्देश्यले धमाधम सुनको भण्डारण बढाउँदै लगेका छन् ।

सुनको भण्डारणको अवस्था 

कुनै ब्यक्ति वा संस्थाले कारोबार गर्दा २,४ किलोको कारोबार हुन्छ । तर देश र रिजर्भ बैंकहरुले नै सुनको कारोबार गर्दा सयौं टन सुनको कारोबार हुन्छ । तर सुनको उत्पादन र सप्लाई सिमित मात्र छ । वल्र्ड गोल्ड काउन्सिलको रिपोर्ट अनुसार सन २०१९ मा ६५०.३ टन सुनको मौज्दात रिजर्भ बैंकहरुले थपे र यो बिगत ५० बर्षमा सबैभन्दा बढि गरिएको खरिद हो । त्यस्तै विश्वको अर्थतन्त्रमा यस बर्ष अर्थिक मन्दी हुने बिभिन्न संकेतहरु देखिई रहेकोमा कारोना भाइरसका कारणले विश्वको अर्थतन्त्रमा नचिताएको मन्दी आउनु र शेयर बजारहरु ध्वस्त भई लगानीहरुमा धेरै ठूलो नोक्सानीहरु बेहोर्नु पर्दा लगानीको सुरक्षाको लागि पनि सुनमा लगानी बढ्न गएको अवस्था छ । त्यसैको कारणले गत बर्ष १४०० डलरको औसत रहेको सुनको भाउ अहिले १७०० डलर भन्दा बढी पुगेको छ ।

डलरको मूल्यमा बृद्धि 
भारतीय अर्थतन्त्रमा बैदेशिक लगानीहरुलाई डा. मनमोहन सिंह अर्थमन्त्री भएको बेला देखि खुला गरिएकोले भारतमा बैदेशिक लगानीको ठूलो मात्रा रहेको छ । अहिलेको महामारी र शेयरबजारमा घाटा हुनाले धेरै बैदेशिक लगानीहरु फिर्ता गएको छ । त्यसैले भारतमा अमेरिकी डलरको ठूलो माग बढेको छ र त्यसैकारण भारतीय रुपैयाको अवमूल्यन भई डलरको मूल्य बढेको छ । नेपालको मुद्रा भारतीय रुपैयासँग गाँसिएको र स्थीर बिनिमय दर भएको कारणले भारतीय मुद्रा कमजोर भयो भने नेपाली मुद्रा पनि कमजोर हुन्छ । त्यसैले यसपाली भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भई ऐतिहासिक १२३र. रुपैयाँसम्म प्रति डलरको मूल्य कायम भएको छ । यता विश्व सुनको बाजरमा भाउमा बृद्धि हुनु अनि नेपाली रुपैयाँ पनि कमजोर हुँदै जानाले नेपाली सुनको बजारमा चौतर्फी दबाब परेको छ । त्यसैको कारणले अहिले नेपाली सुनको बजारमा सुनको भाउ क्रमशः उकालो लाग्दै छ ।

ब्याज दर कटौती 

अमेरिकामा फेडरल रिजर्भ बैंकले हालै क्रमशः ब्याजदरमा कटौती गर्दै ल्याएर लगभग ० प्रतिशतमा झारी सकेको छ । यसबाट बैंकमा पैसा जम्मा गर्दा ब्याज नपाउने हुन गएको छ र यसले पनि उपभोगमा वा सुनचाँदी जस्ता बहुमूल्य धातुहरुको मूल्यमा बृद्धि गर्दछ । यसले पनि सुनको भाउ बढाउन थप मद्दत गरेको छ र निकट भविष्यमा ऋण थुप्रिंदै गएको कारणले अमेरिकाले ब्याजदर बढाउन सक्ने संभावना पनि कम छ ।
अन्तमा,
दिनदिनै नयाँ रिकर्ड कायम गर्दै अगाडी गईरहेको सुनको भाउ अब कतिसम्म पुग्ला ? यो सबैको मनमा उत्सुकता हुनु स्वाभाविक छ । माथी उल्लेख गरिएका सबै कारणहरुलाई मसिनो गरि केलाई विश्लेषण गर्दा अबका दिनमा नेपालीहरुले सुनको मूल्य सुनेर तर्सिनु पर्ने अवस्था आउँदै छ । लकडाउन पछि खुल्ने बजारमा सुनको भाउ सुनेर आश्चर्य मान्नुपर्ने हुनसक्छ । नेपाल एउटा गरिब देश भएको र नेपालीहरुको क्रय क्षमता पनि सिमित रहेको तथ्य सबैले बुझेकै हो । सन २०११ को मन्दीमा सुनको भाउ १९०० डलर भन्दा माथी पुगेको थियो । अहिले भर्खर १७३५ डलर भन्दा माथी पुगेकोमा हाम्रो बजारमा भाउ ८६ हजार भन्दा माथी पुगेको छ । १९०० डलर पुग्यो भने कति पुग्ला ? २००० डलर भयो भने कति पुग्ला ? बिभिन्न अर्थशास्त्रका विज्ञहरुले सुनको भाउ यो स्तर भन्दा पनि बढ्न सक्ने कुराहरु अनुमान गर्दै छन् । यी सबै आउँदो समयमा हामीहरुले अवश्य हेर्न पाउने नै छौं । तर एउटा कुरा चाहीँ स्पष्ट छ, त्यो के भने सुन सस्तो हुने संभावना कम छ र यस्को मूल्य बढ्ने संभावना निकै बढि छ ।

(लेखक शाक्य नेपाल सुनचाँदी ब्यवसायी संघको अध्यक्ष हुनुहुन्छ ।)

प्रकासित मिति २०७७–२–५

फेसबुकबाट तपाईको प्रतिक्रिया