सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुँदै

काठमाडौं, चैत ८, २०८१ । बैशाख ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुने भएको हो ।

बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आइसिटी फाउन्डेसन नेपालबीच कन्क्लेभ आयोजनाको लागि सम्झौता भएको छ ।वीरेन्द्रनगरको सिद्धार्थ सन्नी रिसोर्टमा २ दिनसम्म चल्ने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत् छलफल हुनेछ । ‘इम्पावारिङ द फ्युचरस् इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य बिषयमा केन्द्रित हुने कन्क्लेभमा बिभिन्न ४ किनोट प्रस्तुतिसँगै ८ बढी सेसनहरु रहनेछन् ।

कन्क्लेभमा ५० बढी विज्ञहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट वक्ताको रूपमा सहभागी हुनेछन् । कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय सरकार, प्रदेशसभा, सरकारी र निजी क्षेत्रको उपस्थितिमा आयोजना हुने कार्यक्रम डिजिटल रूपान्तरणको लागि फलदायी हुने विश्वास लिइएको आन्तरिक मामिला मन्त्रालयका सचिव पुष्पराज शाहीले बताए ।

डिजिटल रूपान्तरणको प्रयासमा विभिन्न अभियान र कार्यक्रमहरू सञ्चालन गरिरहेको आइसिटी फाउन्डेसनले कर्णालीलाई विशेष प्राथमिकताको साथ कर्णाली कन्क्लेभको आयोजना गर्न लागिएको अध्यक्ष राजन लम्सालले बताए । दोस्रो संस्करणले डिजिटल साक्षरता सँगै प्रदेशमा भएका विभिन्न सम्भावनालाई उजागर गर्दै प्रविधि मार्फत जीवनस्तर सुदृढ बनाउन सहजीकरण गर्ने लम्सालले बताए ।

डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ, इन्नोभेसन, उद्यमशीलता र ई(गर्भेन्सको विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल गरिने आयोजकले जनाएको छ ।

यसैगरी कर्णालीको लागि विकास गरिएका सोलुसन र आइडियाहरूको शोकस र प्रस्तुति पनि हुनेछ । यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइट www.karnali.digital मार्फत डिजिटल सोलुसनरआइडिया को बारेमा जानकारी दर्ता गराउन सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया