सेना–प्रहरीको अस्पतालमा अब सबैको उपचार हुने

काठमाडौँ २६ पौष

नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा आगामी १५ माघदेखि सर्वसाधारणले उपचार गर्न पाउने भएका छन्। सेना र प्रहरी तथा उनीहरूका परिवारले मात्रै उपचार गर्न पाउने ती अस्पताल सर्वसाधारणका लागि खुला गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि यस्तो व्यवस्था गरिएको हो। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ। सेना, प्रहरी तथा उनीहरूका परिवारका सदस्यले मात्रै उपचार गर्दै आएका अस्पतालमा सर्वसाधारणको पहुँच नभएकाले ती अस्पतालले सबैका लागि सेवा गर्नुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयको पहलमा १५ माघदेखि सर्वसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो।

अब सर्वसाधारणका लागि दिउँसो १ देखि ४ बजेसम्म ओपीडी सेवा सञ्चालन हुनेछ। ती अस्पतालमा हाल बहालवाला प्रहरी, सेना, निवृत्त प्रहरी, सेना तथा उनका परिवारको मात्रै उपचार हुँदै आएको छ। अब ती अस्पतालमा ओपीडी सेवा सुरुसँगै शल्यक्रियालगायतका सेवाका लागि स्वास्थ्य मन्त्रालयले सेना तथा प्रहरीसँग सहकार्य गर्दै जानेछ। स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सल्लाहकार प्रताप पौडेलले नेपाल सेना र स्वास्थ्य मन्त्रालयबीच पटकपटक भएको छलफल र सहकार्यपश्चात् ती अस्पताल सर्वसाधारणका लागि खुला गरिने भएको जानकारी दिए। ‘त्यसलाई अझ व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालय कटिबद्ध छ,’ पौडेलले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया