सेयर दलाललाई शाखा खोल्न दिने प्रक्रिया लम्बियो

काठमाडौं २३ पौष
उपत्यका बाहिर धितोपत्र दलाललाई शाखा विस्तार गर्न दिने प्रक्रिया लम्बिएको छ । नेप्सेले दलालको शाखा विस्तार गर्न धितोपत्र बोर्डको सहमति मागेर पत्र पठाएपछि बोर्डले धितोपत्र दलाल व्यवसायीहरुको पूँजी, आवश्यक पूर्वाधार, जोखिम व्यवस्थापन, आवश्यक जनशक्तिको व्यवस्थापन, नेप्सेको कारोवार प्रणाली, सिडिएस एण्ड क्लियरिङ्गको राफसाफ एबम फछ्र्यौट कार्य व्यवस्थापनसँगको जोखिम लगायतका विषयहरुमा नेप्सेको राय माग्ने भएको छ ।

स्टक ब्रोकर्स एसोशिएसनको अनुरोध अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार कार्य अगाडि बढाउन नेप्सेले बोर्डसँग अनुमति मागेको पत्रमा धितोपत्र दलाल व्यवसायीको नाम र शाखा रहने स्थान मात्र उल्लेख भएको देखिएको भन्दै यस कार्यसँग अन्तर्नीहित जोखिम न्यूनिकरण सम्वन्धमा नेप्सेको धारणा तथा राय माग्नु परेको बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग र धितोपत्र दलाल व्यवसायीहरुको प्रतिनिधि समेतको सहभागितामा वोर्डमा हालै बसेको बैठकले सो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया