सेयर बजारमा ‘कर्नरिङ’ बढ्यो, नयाँ लगानीकर्ता फस्ने सम्भावना उच्च

बिजनेसपाटी २१ बैशाख

धितोपत्र बजारमा पछिल्लो समय सेयरको कर्नरिङ गर्ने प्रचलन बढेको छ । समूहगत रुपमा लगानी गर्ने लगानीकर्ता सानो पुँजी भएका कम्पनीको सेयर कर्नरिङ गरी सेयर मूल्य बढाउने खेलमा लागिपरेको लगानीकर्ताहरूको गुनासो छ ।

पछिल्लो समयमा लघुवित्त तथा बिमा कम्पनीको सेयरमा कर्नरिङ भएको देखिन्छ । न्यून पुँजी भएका कम्पनीको संख्या बढेसँगै कर्नरिङको अभ्यास पनि बढेको हो ।

१/२ करोड मात्रै चुक्ता पुँजी भएका कम्पनीको सेयर मूल्य ‘ब्लु चिप’ कम्पनीको सेयर मूल्यकै हाराहारीमा पुग्नुले पनि कर्नरिङ बढेको पुष्टि हुन्छ । कर्नरिङ बढ्नु भनेको नयाँ र सानो बचत परिचालन गर्ने लगानीकर्ताका लागि ठूलो जोखिम पनि हो ।

मिर्मिरे माइक्रोफाइनान्सको प्रतिकित्ता सेयरमूल्य ३ हजार २ सय रुपैयाँमा बुधबार कारोबार भएको छ । यो लघुवित्तको सेयर मूल्य कुनै पनि वाणिज्य बैंकको मूल्यभन्दा बढी हो । तर, मिर्मिरेको ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता मात्रै सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत छ । यसमध्ये कम्पनीको पब्लिकमा  बिक्री गरेको र नियमित कारोबार हुने सेयर झनै न्यून छ

। यस्तै, बुधबार रिलायबल माइक्रोफाइनान्सको प्रतिकित्ता सेयर २ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसको जम्मा ५ लाख ६५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ । रिलायबलको पनि पब्लिकमा भएको र नियमित कारोबार हुने सेयर न्यून नै छ । यसको सेयर मूल्य पनि वाणिज्य बैंकहरूको भन्दा धेरै हो ।

सेयर बजारमा नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक तथा एभरेष्ट बैंकको सेयरलाई ब्लु चिप सेयर मानिन्छ । २ करोडका कम्पनीको ३० प्रतिशत पब्लिकमा भए पनि ६० हजार कित्ता हुन्छ । त्यसमा १० देखि १५ हजार सेयर उठाएमा सजिलै कर्नरिङ हुन्छ । यसमा आफ्नो समूहअन्तर्गत सेयरमूल्य वढाएर कारोबार गर्ने गरिएको पाइन्छ ।

सेयर बजारको विस्तार हुदा सेयर धेरैसँग गए पनि बिक्री गरिहाल्ने स्वभाव सबैमा नहुँदा बजारमा माग बढ्ने गरेको लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बताउँछन् । थोरै सेयर भएका कम्पनीको माग सिर्जना हुने भएकाले सेयर मूल्य उच्च भएको बताउने पौडेल पनि कर्नरिङ भएको स्वीकार्छन् ।

बजारको विस्तार हँुदा सेयर किनेर होल्ड गर्ने लगानीकर्ता बढेकोले सबै कर्नरिङ भएको नहुने उनको जिकिर छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भने केही लघुवित्त कम्पनीहरूमा कर्नरिङ हुनसक्ने भए पनि प्रत्यक्ष रुपमा नदेखिने बताउँछन् ।

यसरी कर्नरिङ बढेको पाइएमा सम्बन्धित कम्पनीले सर्वसाधारणको स्वामित्वमा रहेको सेयरको संख्या वृद्धि गर्नुपर्ने गिरीले सुझाव दिए । “साना कम्पनीको सेयर आपूर्ति नै थोरै हुन्छ त्यसैले यसमा कम्पनी तथा लगानीकर्ता दुवै सचेत हुनुपर्छ,” गिरी भन्छन् ।

के हो कर्नरिङ ?

पुँजी बजारमा कारोबार हुने कम्पनीको सेयर कुनै संस्था वा समुहले खरिद गरी  नियन्त्रणमा लिने र समूहभित्र नै रहने गरी कारोबार गर्ने र आफूअनुकुल सेयरमूल्य बढाउने प्रचलन नै कर्नरिङ हो । अधिकांश सेयर आफ्नै समूहसँग राखेपछि बढी मूल्यमा बिक्री गर्न सकिने भएकाले यसबाट नयाँ लगानीकर्ता फस्ने सम्भावना बढी हुन्छ । -कारोबार दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया